Sunday, March 23, 2008

वेश्यासँग बिताएको एक साँझ

-प्रकाश आङदेम्बे-
होटल प्याराडाइजको रूम नं. १५मा छु एक्लै…..। यो होटल बुटवलको हो । बुटवलमा कहाँनिर पर्छ भनिरहन आवश्यक छैन यो कथाको लागि । साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन् । म भने अलि बिसञ्चो भएको कारण गइनँ । यसौ भनौँ अल्छी लागेको कारण बिरामी भइ टोपलेँ र बसेँ । साथीहरूको नाम उल्लेख गर्दा पनि हुन्छ, नगर्दा पनि हुन्छ, त्यसैले उल्लेख गरिन । सर्सर्ती कथा मात्र अगाडि बढाउन चाहान्छु । म बसेको होटल सायदै त्यहाँको होटलहरू मध्ये सबैभन्दा महङ्गो हुनुपर्छ । कारण एउटा कोकको दाम मात्र २५ रूपैयाँ (वि.सं.२०६० सालमा) पर्थ्यो ।
हिजो मात्र लुम्बिनी घुमेर आएकोले गर्दा थकान थोरै आफूमा उभिएको छ । समय बिताउन केही क्षण टि.भी. हेर्छु स्पोर्टस, एएक्सएन र नेशनल जोग्राफी बाहेक अरू च्यानल असाध्यै अल्छी लाग्छ र हेर्दिन । सबैभन्दा माथिल्लो तलामा छ हामी बसेको रूम । यसो बेला-बेलामा बाहिर निस्केर तल बाटो तिर हेर्छु। त्यहाँ पनि उही रिक्सा, उही गाडी वाक्कदिक्क । पुनः दिक्दार मानेर रूममा आउँछु र बेडमा पल्टन्छु । केही क्षण निदाए जस्तो गर्छु तर निद्रा लाग्दैन । ब्याग खोतल्छु र डायरी निकाल्छु । केही लेख्न खोज्छु अहँ ! फुर्दैन । त्यसलाई पनि थन्क्याउँछु । केही नभएपछि आफ्नो पुरानो गजल सङ्ग्रह (यात्रामा कतै निस्कँदा प्रायः बोक्छु) निकाल्छु र त्यति मज्जा नलागे पनि पढ्छु । यो होटल धेरै तवरबाट चर्चित रहेछ । सबै सुविधाहरूको ब्यवस्था छ । भनेको अर्डर तुरून्त पुरा हुन्छ । यी भन्दा छुट्टै विषय पनि छ यहाँ । त्यो हो समाजले नामाकरण गरेको वेश्याहरूको मुख्य थलो ।
चर्चित भनाउँदा ब्यक्तित्वदेखि लिएर गाडीका सम्पूर्ण स्टाफहरूसम्म, सेमिनारमा भाग लिन आएका भलादमीदेखि धर्मका पण्डितसम्म, विद्यार्थीदेखि लिएर शिक्षकसम्म, कलाकारदेखि पत्रकारसम्म, व्यापारीदेखि चिकित्सकसम्म सबै-सबै यो स्थानबाट टाढा हुन सकेका छैनन्। यहाँ १५-२० जना युवतीहरू राखिएका छन् । कम उमेरकादेखि लिएर अर्ध उमेरसम्मका पनि छन् । ५० देखि ५,००० सम्म विविध मूल्यका ।समय दिनको दुई बजेको हुँदो हो । दुई जना युवतीहरू बिना अनुमति मेरो रूममा पसे । मलाई थाहा छ पेशेवर युवती हुन तिनीहरू ।
“एक्लै हुनुहुन्छ ?” एउटीले सोधिन् ।
“जोडी छैनन् त” मेरो इत्रयाइं ।
“मिलाउँदा भै हाल्छ नि” सुझाव ।
“आवश्यक छैन” प्रतिक्रिया । त्यसपछि केही क्षण मौनता ।
“पत्रिका पढदा हुन्छ” थोरै समयपछि एउटीको जिज्ञासा ।
“किन नहुनु” मेरो भनाइ ।मलाई थाहा छ होटलको चाप भन्दा धेरै उनीहरू छन् । त्यसैले सकेसम्म ग्राहक फकाएर रकम जम्मा गर्नु उनीहरूको पोलिसी हो । मसँगको उनीहरूको उपस्थिति पनि यस्तै मात्र हो भन्ने म बुझ्छु । मेरो प्रतिक्रिया केही नरहे पछि एउटी थपक्क उठेर बाहिर जान्छिन् । अर्की बसि रहन्छिन् ।
“तिम्रो नाम के हो” सोध्छु ।
“निलिमा” एक क्षण सोचेर बोल्छिन् ।
“आहा ! जस्तो काम त्यस्तै नाम” भन्छु ।
“बिल्ला गर्नुभएको” पत्रिकाबाट नजर हटाएर आँखा फार्दै भन्छिन् ।
“के को बिल्ला गर्नु” म सफाया दिन्छु ।
“यस्तो धन्दा गर्छ भनेर गिज्याउनु भएको हो तपाइँले, म राम्ररी बुझ्छु” दुःखेसो पोख्छिन् ।
“मैले तिमीलाई कहाँ त्यस्तो सोचेको छु र । आफ्नै जस्तो सम्झी रा’छु” कुटनीति प्रयोग गर्छुमेरो सम्वादले उनलाई केही भए जस्तो लाग्यो । उनी खटपट गर्न लागिन । अनुहारमा एक्कासी वर्षा यामको पहाडको मौसम झैँ परिवर्तन झल्कियो ।
“तिम्रो हातमा यो के भा’को” उनको पाखुरामा भएको घाउको खाटो देखाएर सोध्छु । “यो सबै किन तपाईँलाई भन्नु” उनी मप्रति शङ्का ओकल्छिन् ।
“मैले तिमीलाई आफ्नो बैनी सम्झेर पो सोधेको त” भनें ।
उनी एक क्षण मौन साथै गम्भीर भइन् ।
“म अहिले जान्छु ल” यत्ति भनेर उनले मेरो गजल सङ्ग्रह समेत हातमा लिएर ओरालो झरिन् । मैले प्रतिवाद गर्न सार्न्दभिक ठानिन् ।
निलिमा बाहिरिएपछि म पनि केही क्षणको लागि ओरालो झरेँ । त्यो होटलको दोस्रो र तेस्रो तला अलि अँध्यारो देखिन्छ वा अँध्यारो देखियोस् भन्ने उदेश्यले निर्माण भएको लाग्छ । प्राय त्यहाँ दिउँसै पनि यौन क्रियाकलाप हुँदोरहेछ । सिँढी ओहोरदोहोर गर्ने क्रममा त्यहाँको सम्पूर्ण क्रियाकलाप नदेखिए पनि केही भने अवश्य थाहा लाग्छ । यौन क्रियाकलाप हुनु अघिका गाइँगुइ, अमर्यादित चुम्बनबाट उछिट्टिएका आवाजहरू मात्र हैन स-साना प्वालबाट दृश्य समेत बेला-बेला देख्न सकिन्छ, भित्र वत्ती निभाएको छैन भने ।
आधा घण्टा पछि नास्ता तलै गरेर म उकालो चढदै थिएँ । हेटौडाको एउटा केटाले प्वालबाट यौनकार्य गरेको देखेपछि फोटो खिचेछ । त्यसपछि समय निकै तनावग्रस्त भयो । यौन कार्यमा संलग्न युवालाई बाहिर निकालेर सबैले झपारियो ।
“के गर्नु जर्बजस्ती हैन, पैसा तिरेर सहमतिमा हो क्यारे” भनेर त्यो युवक त्यहाँबाट फरार भयो । भित्र हेरेँ कुनामा निलिमा लुकेर बसिरहेकी थिइन् । अनुहार छोपे पनि मैले उनको हातमा भएको घाउको खोटबाट चिनेँ प्रष्ट ।
“ल-ल साथी हो जाउँ यस्तै हो” भनेर सबैलाई भनेँ । क्रमश भीड पनि पातलियो । होटलवालालाई ‘अली मर्यादाको ख्याल गर’ भनेर सम्झाएँ ।
“के गर्ने सर ! त्यसै आम्दानी हुँदैन क्यारे, सेवा पनि, मेवा पनि क्यारे, धन्दा त गर्नै पर्यो क्यारे । फेरि जर्वजस्ती पनि हैन क्यारे, स्वेच्छाले आउनेलाई त दिनै पर्यो क्यारे ।” भनेर होटलवाला आफ्नो दारी मुसार्दै ओरालो लाग्यो । म मास्तिर रूममा लागेँ ।
यो घटनाले मलाई केही सोच्न बाध्य गरायो । यो पेशामा खराब को हो भनेर । यौन कार्यमा लाग्ने नारीहरू या यसमा सङ्लग्न पुरूषहरू । या त यस धन्दाका सञ्चालकहरू । या फेरि यस कार्यलाई अपराध ठान्ने समाज । या त यस्ता बिषयलाई प्रोपोगान्डा मच्चाउने लेखक, पत्रकारहरू । के नारी मात्र वेश्या बन्न सम्भव छ ?
के बिना पुरूष नारीमात्रको उपस्थितिले यस्तो हुन्छ - कतै हाम्रै समाजको सङ्कीर्ण दृष्टिको कारणले यो घटना अपराध त भएको हैन ? यावत कुराहरू सोचेँ । अनि लाग्यो निलिमा अब म कहाँ आउँदिनन् । यस्तै के-के सोच्दै गर्दा अचानक ढोका ढक्ढकियो । उठेर ढोका खोलेँ । थाहा भयो निलिमा रहिछिन् । मैले बिना कुनै बहाना उनलाई भित्र आउने इशारा गरेँ । उनी आइन र बसिन् । समय दिनको चार बजेको थियो ।“अघिको घटनाले तपाईँलाई म प्रति घृणा जाग्यो होला हगि ?” बस्दाबस्दै सोधिन् । “कुन घटना ! मलाई त केही पनि थाहा छैन” अन्जान भइटोपलेँ ।
“जहाँ तपाईँले मलाई चिनेर त्यो हल्ला साम्य गराइदिनु भयो र मेरो इज्जत जोगाइदिनु भयो ।” प्रसङ्ग सम्झाइन् ।
तीन छक्क परेँ म । कस्तो इज्जत ! देह सबैलाई सुम्पिन्छिन् तापनि इज्जतको सवाल । उसोभए इज्जत कहाँ हुन्छ मान्छेको ? घोरिन्छु ।
“किन नबोल्नु भा’को -” ध्यान तोडिन् ।
“त्यहाँ तिमी थियौ भन्ने मलाई थाहा थिएन” बोलेँ ।“मलाई अप्ठ्यारो पर्छ भनेर त्यसो गर्नु भएको हो तपाइँले” खोतलिन् ।
“हैन हैन” भनेँ ।
“के गर्नु यस्तो त जहिले हुन्छ । आ छाडदिऊँ यस्ता कुरा बरू साँच्चै यो किताब तपाईले लेख्नु भएको रहेछ, फोटोवाट चिनेँ, हजुरको नाम प्रकाश रहेछ नि” अचानक उनी आफैँले प्रसङ्ग मोडिन् ।
“अहँ ! हैन त” छल्ने प्रयास गरेँ ।
“फोटो तपाईँ कै छ, नाम तपाईँ कै छ त” विवरण बताइन् ।
“मेरो कपाल लामो छ, यो फोटोवालको कपाल छोटो छ” झुक्याउने प्रयास गरेँ ।
बरू हामी जस्तो खराब मान्छेलाई भन्दा इज्जत जान्छ भन्नुस् न” दह्रै उत्तर फर्काइन् ।अब भने मैले यथार्थ बताउनै पर्ने भयो । उसलाई अरूले गरे भन्दा अलग ब्यबहार गर्नै पर्ने भयो । नत्र प्रत्येक पुरूष उनको नजरमा समान (यौन पिपासु) मात्र हुनसक्थ्यो ।
“मैले तिमीलाई खराब सम्झेकै छैन आफै त्यस्तो कुरा सम्झन्छौ ।”
“अनि किन ढाँट्नु हुन्छ त” भनिन् ।
“हैन के भन्छौ भनेर नि” यति भनि सक्ता नसक्ता मैले पुनः सोधेँ ।
“अनि किताब कस्तो लाग्यो त” मेरो जिज्ञासा ।
“राम्रो लाग्यो, सबै पढेर सिध्याएँ, अनि पहिलो पटक कुनै राम्रो मान्छेसँग सिधै बोल्न पाएँ” उनले आफ्नो कुरा भनिन् ।
“एउटा कुरा सोधुँ” भनेँ ।
“हुन्छ” टाउको हल्लाइन् ।
“तिमी मान्छे त राम्री छ्यौ, बुझकी छौ, फेरि किन यस्तो काम गर्र्छौ” सम्झाए जस्तो गरेँ ।
“यस्को विस्तृत कथा भन्न यहाँ सम्भव छैन ।”
“उसो भए कहाँ सम्भव छ त ?” कोट्याएँ कुरा ।
यदि मलाई विश्वास गर्नु हुन्छ र यो कथा जान्न चाहानु हुन्छ भने आज साँझ तपाई मसँग हिँड्नोस म बताउँछु, तर तपाईँलाई अप्ठयारो लाग्दैन भने मात्र ।” बिना बहाना नहिच्किचाई केही क्षण सोचेर प्रस्ताव राखिन् । विकल्पको समेत ठाउँ छाडेर ।
“हुन्छ” केही बेर सोचेर मैलै भनेँ । त्यसपछि उनी भरै भेटौँ ल भनेर तल झरिन् ।
साँझ पर्यो । समारोहमा गएका साथीभाइहरू सबै फर्किएँ रूममा । निलिमा होटल मालिकले ग्राहक थुप्रै छन् भन्दा पनि आज भ्याउँदिन भनेर विदा लिइन् । लगभग साँझ ७ बजेतिर उनी आइन् र जाउँ भनिन् । एकक्षणमा आउने निधोका साथ म साथीहरूबाट बिदा भएँ । साथीहरू “ल,ल दह्रो गरी चित्त बुझाएर आइज” भन्दै थिए मलाई । मैले हैन भनिरहन सार्न्दभिक ठानिन् ।
“सर माल त सोलिट छ क्यारे” हिँड्नु अघि होटलवालले मलाई जिस्कायो । मैले अभिनयको मुस्कान मात्र फ्याँकेँ । होटलबाट निस्केपछि उनले रिक्सा रोकिन् र चढाइन् । रिक्सामा बसेपछि उनले आफ्नो मुहार सलले पूरै ढाकेकी छिन् । लाग्छ उनी मुसलमान महिला हुन् । रिक्सा दक्षिणतिर लाग्यो । मनमा भने थोरै त्रास पनि पैदा भयो । पहिलो पटक समाजले नामाकरण गरेको वेश्यासँग म हिँडिरहेछु यतिबेला ।
रात अँध्यारो छ । भैरहवातिरबाट आएका गाडीको लाइट बेला-बेलामा हामीतिर पर्दा उनी अनुहार निहुर्याउँछिन् । हुन त मैले उनीसँग गएको सम्पूर्ण स्थान वा चोकहरूको नाम उल्लेख गर्दा पनि हुने तर उनको बसोबासको सवाल भएकोले मैले उल्लेख गरिनँ । लगभग १५ मिनेटपछि एउटा खोलाको बगरमा अवस्थित बाक्लो झुप्रा बस्तीमा पुग्यौँ । हल्लाखल्ला छ त्यहाँ । सायद सुकुम्बासी बस्ती हुनु पर्छ मेरो नजरमा । त्यसो त नहुन पनि सक्छ कारण रातको कुरो हो दृष्टि भ्रम पनि हुनसक्छ । सो ठाउँमा हल्ला, आपसी झगडाहरू प्रशस्त सुनिन्छन् । “सर यतै आउनोस् न” उनले मलाई भनिन् ।“ए भै हाल्छ नि” मैले सहजता पस्कें ।
यतिबेलासम्ममा उनले चेप बाटो हिँडाएर एउटा झुपडीमा पुर्याई, ढोका खोलीवरि कुपी जलाएर मलाई बोलाइन्। म सरासर भित्र पसेँ । हतार-हतार उनले एउटा खाटबाट छरिएका लुगाहरू उठाउँदै तन्ना मिलाएर राखिन् । मैले अनुमान गरें त्यो उनी बस्ने घर रहेछ भनेर । खरको टाटीले बारेको झुपडी । त्यसलाई दुई कोठामा विभाजन गरिएको छ । हामी पहिलो कोठामा छौँ । दोस्रो कोठा बन्द छ । पहिलो कोठाको एक कुनामा चुला छ । नमाझिएका भाडाकुँडाहरू छरिएका छन् । बिहानै हतारमा हिँड्दा नभ्याई छाडेको हुनुपर्छ सायद । त्यति चिटिक्क परेर हिँड्ने मान्छेको यो हालत देखेर म आफैँमा अचम्म परेँ । मैले स्थिति अन्दाज लाउनै सकिनँ । म बस्दा-बस्दै उनले ती भाडाँकुडाँ माझेर ल्याइन् । अनि हतार-हतार आगो सल्काउन थालिन् ।
“केही दुःख नगर है” उनले केही पकाउन लागेको बुझेर म सम्झाउँछु ।
“सर जीवनमा राम्रो काम त गरिनँ तर आज भाग्यले राम्रो काम गर्ने मान्छेसँग भेट भएको छ केही गर्न नपाए पनि हजुरलाई यसो दुःख-सुख एक छाक खाना खुवाउन पाए मेरो जीवन धन्य हुन्छ कि भन्ने सोचमा छु । कृपया नाइँ नभनि दिनुहोला” उनले हतारमा चामल पखाल्दै मसँग अनुरोध गरिन् । उनको यो शब्दलाई नाइँ भन्न पनि सकिन ल भन्न पनि सकिन । मात्र म मौन बसेँ ।
“सर चिया पिउनुहोस ल” चिया बनाएर मेरो सामु राख्दै भनिन् ।
“हुन्छ-हुन्छ” मैले भनेँ । चिया पिउनु भन्दा पनि मेरो ध्यान भने अरू तिर नै छ ।
“निलिमा बरू गफ चाहिँ गरौँ न” प्रस्ताव राखेँ ।
“भै हाल्छ नि सर” उनले भनिन् ।
“गफ गर्नु भन्दा पहिला खाना चाहिँ खानै पर्छ क्या सर” उनले थप अडान राखिन् । मैले नकार्न उचित ठानिनँ । घडी हेरेँ साँझको ७:४५ भएको छ । दश बजे भन्दा अगावै पुग्नुछ होटल । नत्र गेटमा ताल्चा लाग्छ । यस्तै क्रममा चार पाँच पुरूषहरू पनि आउँदै फर्के ।
“हाताहाती हुन्छ हौ, किन नमानेको” निलिमालाई भन्थे । बुझेँ उधारोमा पनि काम चलाउँदी रहिछिन् उनी ।
“आज हुँदैन भनेपछि हुँदैन” निलिमा भन्थिन् र पठाउँथिन् । म बुझ्छु ती आउनेहरू ग्राहक हुन निलिमाका ।
“सर माइण्ड नगर्नु ल, के गर्नु यस्तै छ” उनी मलाई अप्ठ्यारो पर्यो कि भनेर सम्झाउँछिन् । म प्रतिक्रिया स्वरूप मुस्कान मात्र फ्याँक्छु ।
यत्तिकैमा उनको बन्द कोठाबाट आवाज आउँछ अचम्मको । मान्छेको जस्तो पनि जनावरको जस्तो पनि । दुई, तीन, पटकको आवाजले मलाई कता-कता भित्री त्रास र जिज्ञासा पैदा गरायो ।
“निलिमा के को आवाज हो यो” सोधेँ ।
“हजुरलाई सबै भन्छु , पहिला खाना खाउँ” यति भनेर उनले खाना पस्की र मेरो सामु राखी दिई । मलाई भने झन शंकाले घेर्यो ।
“अनि तिमीलाई चाहिँ खोइ त” मैले भने ।
“म एक क्षणमा खान्छु सर, पहिला तपाईँ लिनुहोस् न” उनले बताइन् ।
कता-कता शंका लागे पनि उनको अगाडि आफूलाई आदर्श बनाउनको निम्ति मैले खाना खाएँ ।
“ल सर यस्तै भयो है” उनले भनिन् ।
“अति मिठो लाग्यो मलाई त” जसोतसो औपचारिकता बताएँ । सम्झेँ अघि होटलमा मसँग एकक्षण बिदा मागेर उनी सपिङ गर्न गएकी रहेछिन् । खानाको साथमा च्याउको तरकारी, काँक्राको अचार, खुवाइन् । खाना खाइ सिध्याएपछि केहीबेर आराम गरेँ खाटमै ढल्केर । त्यसपछि उनले आवाज आइरहेको बन्द कोठाको ढोका खोलिन् । ढोका खोल्नासाथ नमिठो गन्ध आयो । मैले शंका गरे पक्कै कुनै बिरामी हुनुपर्छ या जनावर पालेको हुनुपर्छ । नभन्दै उनले कुपी पनि सल्काइन् । कुपीको उज्यालोले बिस्तारै कोठाको अँध्यारो हट्दै गयो । वस्तुहरूमाथि नजरको प्रभाव पर्दै गयो । म छक्क परेँ । डर पनि लाग्यो । त्यो भित्रको दृश्य देखेर । त्यहाँ एउटा साँपे बालक थियो जसलाई सिक्रीले बाँधिएको थियो । अघिको अपरिचित आवाज त्यही बालकको रहेछ । दृश्य देखेपछि म बोल्नै सकिन । शंका र अनुमानका विचारहरू मभित्र सागरको लहर भन्दा धेरै र उँचो भएर आयो ।
“मैले केही बुझिन नि निलिमा” भनेँ ।
“म बुझाउँछु सर” यति भनेर उनले भन्न शुरू गरिन् ।
“मेरो वास्तविक नाम शान्ति तामाङ हो सर । मेरो घर मकवानपुर जिल्लामा पर्छ । मलाई थाहा छ त्यसबेला हाम्रो घरमा एउटा लाहुरे जस्तो मान्छे आयो इन्डियाबाट । उ लगभग हप्तादिन जति बस्यो । उसले आमा-बासँग विवाह गर्ने भनेर मेरो हात माग्यो । छोरी कसरी पन्छाउने भनेर सोचीरहेको बखतमा सम्भावना भएर आयो त्यो युवक मेरो आमाबाको लागि । मलाई एक शब्द पनि नसोधी त्यो अपरिचित युवकसँग जबर्जस्ती विवाह गरिदिनु भयो । कति रोएँ कराएँ तर अहँ उहाँहरूले मेरो बिन्ती सुन्नु भएन । विवाह गरेपछि त्यो युवकले मलाई साह्रै माया गर्‍यो केही दिन । त्यतिबेला म १३ वर्षकी थिएँ । विवाह गरेको हप्ता दश दिनपछि त्यो युवकले घर जाने भनेर आमाबासँग बिदा माग्यो । आमाबा, साथीसङ्गी, गाउँघर छाडेर जानु पर्दा म कति रोएँ-रोएँ । तर जानु बाहेक मसँग अरू बिकल्प थिएन । त्यो युवकले मलाई इन्डियाको बानरहाट भन्ने ठाउँमा पुर्‍यायो । त्यहाँ उसले मलाई डेरा खोजेर राख्यो । उसको नाम हर्क रहेछ त्यहीँ थाहा भयो । इन्डिया पुगेपछि अचानक उसको व्यबहारमा परिवर्तन आयो । नेपालमा गरेको उसको माया-ममता सबै देखावटी मात्र रहेछ भन्ने थाहा पाएँ । मलाई त्यसले गर्नुसम्म जबर्जस्ती गर्यो । म कति चिच्याएँ तर उसले मेरो मुख छोपेर मेरो इच्छा विपरीत मलाई लुछ्यो । “मसँग बस्ने विचार छ भने चुप लाग हैन भने हल्ला गर । तँलाई यतिको लागि त तेरो बाउआमासँग किनेर ल्याएको नि” भनेर हप्काउँथ्यो । आफू बेचिएको कुरा विश्वाससम्म गर्न सकिन । पछि-पछि त कुट्न पनि थाल्यो । मैले यसरी कैयौँ रात आफू बलात्कृत भएर बाँच्न विवश भएँ । पीडा र चोटको त कुरा नै नगरौं । सायद तीन महिनापछिको समय हुँदो हो, मेरो पेटमा उसको नासो हुर्किएको थाहा पाएँ । त्यसपछि त झन कुटे पनि गाली गरेपनि उसकै माया लाग्न थाल्यो । पेटमा बच्चा छ भन्ने जानकारी गराएँ उसलाई तर ऊ खुशी हुनुको सट्टा अति आक्रोशित भएर आयो । त्यो बच्चा फाल्नु पर्छ भन्न थाल्यो । मलाई चुटाइको बजार पस्कियो । मैले त्यो नासो बचाउनको लागी उसलाई हैन भनेर टारेँ ।
एकदिन अचानक उसले मलाई नाटकीय रूपमा माया गर्‍यो । नयाँ कपडा, मिठा-मिठा खाने कुराहरू ल्याएर आँफै बनाएर खुवायो । मैले अनुमान लाउनै सकिनँ उसले के गर्न लाग्यो भनेर । एक मनले उनको मन फर्किएछ भनेर दङ्ग परेँ । त्यसको भोलिपल्ट हामी घुम्न जानुपर्छ भनेर उसले मलाई कलकत्ता लिएर गयो । एक रात रेलको यात्रा पछि हामी कलकत्ता पुग्यौँ । सालहदह भन्ने रेल जक्सनमा उत्रियौँ । उसले मेरो दिदीको घर छ जाऊँ भन्यो । त्यसपछि जक्सनबाट एकदम भीडभाड भएको ठाउँमा लिएर गयो, लाग्छ त्यो जग्गा झुपरपट्टी हुनुपर्छ । त्यहाँ अति मान्छेहरूको घुइँचो थियो । सबै मातेका, मुखभरी पान चपाएका पुरूषहरू मात्र देखिन्थे । बाटोहरू सबै-सबै थुकेर रातै रगत पोखिएको टाटो जस्तै देखिन्थ्यो । आइमाईहरू छिटपुट मात्र नजर पर्थे । दिउँसै पनि त्यो स्थान अँध्यारो लाग्थ्यो कारण त्यो जग्गा विशाल पुलमुनिको थियो। मलाई मनमनै डर चाहिँ अति लागिरहेथ्यो । तैपनि उसको भर थियो । “नई मुर्गा आई” भनेर त्यहाँका मान्छेहरू भन्थे । म भाषा बुझ्दिन थेँ । १५/२० मिनेट पछि चेपै-चेप हिँडेर हामी एउटा पुरानो भव्य घरमा पुग्यौँ । त्यहाँभित्र उसले मलाई लिएर गयो । कोठामा एउटी मोटी आइमाई बसिरहेकी थिइन् । हामीलाई देख्ने बित्तिकै “आऊ-आऊ, त राम्ररी आयौ” भनेर भन्यो । त्यसपछि हामीलाई “ल आराम गर” भनेर छुट्टै कोठामा लिएर गयो । मलाई कोठामा राखेर “एकछिन है, म दिदीसँग गफ गरेर आउँछु” भनेर उ बाहिर निस्कियो । एक घण्टा बित्यो, दुई घण्टा बित्यो, तर अहँ ऊ आएन । निकै बेरपछि एउटा भुसतिघ्रे काले पुरूषसँग अघिकी मोटी दिदी भने आइन् । “ल यो साहबलाई तिमी चित्त बुझाऊ” भनेर भन्यो । त्यो भुस तिघ्रे मधिशे मुसुमुसु हाँस्दै आफ्नो दारी मुसार्दै थियो । “दिदी भाइ खोइ त” भनेर मैले सोधेँ । “अरे छोकरी, म तेरो दिदी हैन । तँलाई अघिको केटाले १० हजारमा बेचेर चल्यो । तैले अब धन्दा शुरू गर्नु पर्छ बुझिस्” भनेर भन्यो । मैले आफू वेश्यालयमा पुगेको वास्तविकता थाहा पाएँ ।
कयौँ पटक गुहार मागेँ । रोएँ, कराएँ, प्रतिवाद गर्न चाहेँ तर सब असम्भव । आत्महत्या गर्न पनि कैयौं पटक सोचेँ तर उनीहरूको पलपलको निगरानीका कारण र मेरो पेटको बच्चाको कारण त्यसो सम्भव भएन ।
हप्तादिनसम्म त हरसम्भव प्रयास गरेँ । सट्टामा प्रत्येक दिन कोर्रा भुत्ल्याई खाइयो । जबसम्म आफू राजी भइनँ तबसम्म भोकै राखे । अन्ततः विवश भएर बाँच्नको लागि आफूलाई जिउँदो लाश बनाइ वेश्या बनाउन बाध्य भएँ । बिरामी, बिसञ्चो केही पनि भन्न पाइन्न रहेछ त्यहाँ । उनीहरूको खटन मान्नै पर्ने । दिनमा कम्तिमा आठ दश जना भन्दा बढीसँग सम्पर्क राख्नु पर्ने । यतिसम्म कि महिनावारी हुँदा पनि धर नपाइने । रक्सी खाएर, पान खाएर, मनपरी गर्दै र बोल्दै, आउँथे र आफूखुशी गर्थे । मानेन भने चुरोट वा अर्थोकले पोल्थे । तपाईँले सोध्नु भएको मेरो पाखुराको घाउ पनि त्यस्तै घटनाको चिनो हो ।”
थप प्रसङ्गलाई अघि बढाइन् “लगभग चार महिना पछि म दुइज्यूकी छु भन्ने कुरा त्यहाँको मालिक्नीले थाहा पाइन् । त्यो थाहा पाउने बित्तिकै मलाई मरणाशन्न हुने गरी चुट्यो । अन्तमा डाक्टर बोलाएर मेरो पेट खुलाउन भन्यो तर डाक्टरले यो कुनै हालतले सम्भव नहुने बतायो । त्यसपछि मलाई अति मानसिक र शारीरिक यातना दिएर त्यहाँबाट निकाल्यो । त्यहाँबाट प्रहरीको सहयोगले म पुन बानरहाट फर्किएँ र हर्कलाई खोजेँ तर पाउन सकिनँ । तीन, चार महिना अघि नै उसले त्यो ठाउँ छाडेको कुरा बताए सबैले । त्यसपछि म आफ्नो माइतघर फर्किएँ, बाटो-बाटोमा शरीर बेच्दै र लुछाउँदै । भारत र नेपालका प्रहरीले पनि सहयोगको सट्टा मेरो ज्यान लुछे । माइतघरमा एक डेढ महिना बसेँ । त्यतिन्जेलसम्ममा यो छोरा पनि जन्मियो । सुरूका दिन त गाउँमा राम्रै गरी बिताएँ । पछि आमा बाबालाई आफ्नो सम्पूर्ण यथार्थ बताएँ । मेरो कहानी थाहा पाएपछि अचानक बाबा-आमाको, घरपरिवारको र क्रमशः छरछिमेको म प्रतिको धारणा बद्लियो ।
“वेश्या भएर पो आएछ यो त यसलाई गाउँमा राख्नु हुँदैन लोदर लाग्छ” भनेर सबैले भन्न थाले । बाटो हिँड्ने, वल्लो गाउँ, पल्लो गाउँ, सबै तिरकाले मलाई हेर्न आउँथे । एकदिन समाज बस्यो र “कि यस्लाई यहाँबाट खेद कि आफू गाउँ निकाला हौ” भनेर मेरा परिवारलाई अप्ठ्यारोमा पार्यो । त्यसपछि म आफै छोरालाई बोकेर त्यहाँबाट हिँड्न बाध्य भएँ ।
अनि म नेपालगञ्ज गएँ । काम खोजेँ, बाँच्ने अन्यत्र मेसो खोजेँ तर पाउन सकिन । अन्तत यो बच्चाको लागि भए पनि मैले आफूले आफ्नो शरिर बेच्न बाध्य हुनुपर्र्यो, सुत्केरी भएको महिना दिन देखिनै । लगभग छ महिना पछि अलि अलि पैसा कमियो । त्यो पैसाले सानो घुम्ती पसल खोलेँ नेपालगञ्जमा नै, साथै त्यो बदनामी पेशा छाड्ने निधो गरेँ । एक महिना जस्तो के भएको थियो अचानक एक दिन पत्रकार भनौँदा आएर मलाई यौन कार्य गर्न खोज्यो मैले अस्वीकार गरेँ । त्यसको भोलिपल्ट एउटा अखबारमा चर्चित वेश्याले घुम्ती पसल थाल्यो भन्ने शीर्षकमा समाचार छापियो । त्यसपछि त त्यो क्षेत्रमा मलाई गिज्याउने, घृणा गर्ने, बस्नै नदिने भन्न थाल्यो । मेरो पसलमा कोही पनि केही किन्न आउन छाडे । घुम्तीको मालिकले पनि घुम्ती नदिने भन्न थाल्यो । अन्तत हिंड्न करै लाग्यो । त्यहाँबाट हिँडेपछि पोखरा, धरान, बिर्तामोड, बिरगञ्ज, बिराटनगर, काठमाण्डौ, हेटौंडा, भैरहवा सबै-सबै ठाउँमा यही पेशामा हिंड्न बाध्य भएँ । जहाँ गए पनि मैले यो मेरो मुटुलाई फाल्न सकिन । कारण मलाई त्यो अकल्पनीय नर्कबाट यसैले मुक्ति दिलाएको थियो । म यहाँ (बुटवल) आएको पाँच महिना जति भयो । यो अहिले पाँच वर्षको भयो ।” आफ्नो कहानी बताउँदा-बताउँदै उसको आँखाबाट आसुँको नहर बग्न थाल्यो । आसुँ नपुछी उनले पुन भन्न थालिन् ।
“यो जन्मँदा राम्रै थियो सर तर बाँच्नको लागि घृणित कार्य गर्ने बेलामा यसले थाहा नपावोस, कतै देखेर आमा शब्दप्रति घृणा नजागोस भनेर निद्रा लाग्ने औषधी खुवाउन बाध्य भएँ । लगातार औषधीको असरले गर्दा यो अपाङ्ग हुन पुग्यो । तर पनि मैले यसलाई माया मार्न सकिन, अनि आफूले पनि मृत्युसँग सम्झौता गर्न सकिन ।” उनको यो कथाले मलाई पनि कतिबेला भत्काएछ-भत्काएछ आँखाबाट आँसुको नदी बग्दा पो थाहा पाएँ ।
प्रसङ्ग जोड्दै भनिन्- “सर पहिलो पटक कसैले मेरो जवानी भन्दा पनि चोटलाई बुझने कोशिश गर्यो । मेरो नजरमा त्यो देवता समान हजुरलाई अन्तमा म एउटा कुरा भन्न चाहान्छु”
“भनन” भनें ।“सर नारी जातिलाई पनि पुरूष सरह एक वा सो भन्दा बढीसँग सम्पर्क गर्न मन नलाग्ला भन्न सक्तिन तर सत्य कुरो कुनै पनि नारीलाई वेश्या बन्ने रहर हुँदैन” यति भनेर उनले कुरा टुङ्ग्याइन् । सम्बेदना र मायाले थाम्दैन रहेछ । साँझ छिप्पिन लागेकाले मैले उनीसँग बिदा मागेँ । उनले पनि अब केही उल्झन नगरी मलाई बाटोसम्म पुर्‍याउन आइन् र हात जोड्दै भनिन् ।
“सर फेरि भेट हुन्छ कि हुँदैन तर नर्बिसनु होला है”
“भै हाल्छ नि किन नहुनु” म यति भनेर उनीसँग टाढा भएँ । रिक्सा लाग्यो उकालो । निकै माथि पुगेर फर्की हेरेँ । गाडीको उज्यालोले देखेँ, उनी त्यहीँ उभिई रहेकी थिइन् हात हल्लाउँदै । निलिमाको कहानी सुनेर साढे नौ बजे तिर पुगेँ होटल ।
“एक्लै भ्याएर आइस् होइन” साथीहरूले गिज्याए । मैले भट्टीभित्र दूध पिएर आए पनि जाँड नै पिएर आउँछ भन्ने मान्यताले ग्रसित उनीहरूलाई प्रतिवाद गरिरहन उचित ठानिन् । म बहस नगरी निदाउन भनेर ढल्किएँ ।“सालेले मरिञ्जेल गरे जस्तो छ” साथीहरू भन्दै थिए । म नसुन्ने जस्तै भएँ ।
भोलिपल्टको बिहान उनी होटल आइन कि भनेर हेरेँ तर अहँ देखिन । होटलवालालाई सोध्दा “हिजो तपाईँसँग गएको आकी छैन क्यारे” भन्यो । आज म पनि झापा फर्किने दिन । फर्किनुभन्दा अघि उनलाई एकपटक भेट्छु भनेर उनी बस्ने ठाउँ गएँ रिक्सामा । त्यहाँ जाँदा त्यो घरमा ताल्चा लगाएको थियो । छेउको एउटा दाइलाई सोधेँ । उनी राति नै त्यहाँबाट अन्यत्र सरिन तर कहाँ भन्ने थाहा भएन भन्ने कुरा थाहा भयो ।
“यो घर उनको आफ्नै होइन र” प्रश्न गरेँ ।
“कहाँ हुनु नि, भाडामा बस्थिन् नि, तीन महिनादेखि” जानकारी आयो ।
गाडी छुट्ने हुनाले म पनि त्यहाँबाट फर्कें ।
तीन वर्षपछि ।
२०६३/७/७ गतेको बिहान आज । भाइटिकाको दिन । टेलिफोनको घण्टी बज्यो । उठाएँ । मैले हेलो भनी नसकी स्वर गुञ्जियो निलिमाको । तीन वर्ष भो यसरी उनले मलाई भाइटीकामा फोन गरेकी । भनिन् “दाइ नमस्कार, आज भाइटिकाको दिन । हजुरको याद आयो र फोन गरेकी । म कहाँ छु कृपया नसोध्नु होला । बस आज भाइटिकाको दिन हो त्यसैले माइतीलाई सम्झेकी हुँ । हजुर कहाँ आउने मन त नभएको होइन तर मेरो उपस्थितिले हजुरको पवित्र छविलाई दाग लगाउन सक्छ त्यसैले आउन असम्भव छ । लाग्छ संस्कारले मानेको माइतीभन्दा मनले मानेको माइती उच्च र वास्तविक हुन्छ । यो अभागी चेलीले दुई मुठ्ठी सास भइञ्जेल अरू बेला नगरे ‘नि प्रत्येक भाइटिकामा यहाँलाई फोन गर्छे पक्कै झर्को मान्नु हुन्न होला ।”
उनले नभने’नि कलर आइडीमा पोखराको कोड प्रष्ट देखियो ।
“नानीलाई कस्तो छ ?” प्रश्न गरें ।
“५ महिना अघि वीरगन्जमा मृत्यु भयो ।……छाडौं दाइ यी कुराहरू……यस्तै…..हो……..। दाइ….अहिले फोन राखेँ है.. ।” मैले हुन्छ भन्न नपाई उनले फोन राखिन् तर फोन राख्न अघि उनको भक्कानिएको स्वर भने मैले प्रष्टसँग सुनें ।
मान्छेबाट छलिएर बाँच्न मान्छेलाई कति कठिन हुँदोरहेछ । निलिमाको कथा देखेपछि थाहा भयो । म आज पनि सोच्छु, यति ठूलो संसारले किन लुकाउन सकेन निलिमाको बाध्यात्मक कथा/व्यथा ।
(प्रकाश आङदेम्बेको “वेश्यासँग बिताएको एक साँझ” कथा सँग्रह प्रकाशित भइसकेको छ)

Saturday, March 22, 2008

तर्क

प्रकाश आङदेम्बे-
“मलाई पुरूष मान्छे भन्नासाथ भित्रैदेखि वाक्क लागेर आउँछ। घिन र घृणा त झन कति लाग्छ-लाग्छ” यो कुरा एउटा विचार गोष्ठी समाप्त भएर दमक नगरपालिकाको हल बाहिर निस्केपछि पिंकीले मलाई अलग्गै लगेर भनेकी थिइन्।
“यही कुरा फेरि किन पुरुषलाई नै सुनाएकी त” मैले मुसुमुसु हाँस्दै सोधेँ।
“जुन कुरा जसलाई आवश्यक छ त्यसैलाई नै सुनाउनु पर्छ” उनले औंला मेरो नाकको सामु ठड्याउँदै भनिन्। यो उनको स्वावभाव नै थियो।
स्वावभावले पिंकी एकदम स्पष्ट, निडर, विद्रोही खालकी छिन्। स्नातक दोस्रो वर्षमा अध्ययनरत उनको कपाल छोटो छ। उचाइ लगभग साढे पाँच फिट जति छ। अनुहारमा कुनै श्रृङ्गारका सामाग्रीहरू प्रयोग छैनन्। भेष्ट र पेन्ट मात्र प्राय उनी लगाउँछिन्। कहीँ जान केही गर्न पनि उनलाई साथी चाहिँदैन। जहाँ जसले जस्तो प्रश्न गर्छ बाँकी नराखि त्यति नै बेला फ्याट्ट उत्तर दिई हाल्छिन्। आइलागे झगडा गर्न र हात हाल्न पनि पछि पर्दिनन्। जे जस्तो भए पनि उनी मसँग चाहिँ असाध्यै मिल्छिन्।
“पुरूषहरूले चाहिँ कहिले नकाटेको दाह्री जुंगा मात्रैले पनि चल्ने, नारीले चाहीं सत्र धातुको झन्झट अनुहारमा दल्नै पर्ने” श्रृङ्गारको बारेमा कुरा गर्दा उनले बताइन्।
“कपाल लामो, सारीको झन्झट बेहोर्नु पर्ने” थप भनिन्।
“पेन्ट, भेष्ट सहज र पूर्ण हुन्छ, त्यो चाहीं लाउँदा के हुन्छ -” भन्दा भन्दै पुन अगाडि भनिन्।
“तर सारीले त नारी जातिलाई एकदम सुहाउँछ नि” मैले आफ्नो राय बताएँ।
“पुरूषले किन सारी लाएको मन पराउछन् थाहा छ” उनले मेरो बोली खसि नसक्दै सोधिन् ।
“किन” मैले सार मिलाएँ।
“सेक्सी देखिन्छ र” उनले भनिन्।
“कसरी” मैले सोधें।
“ढाड, पेट, नाइटो र सम्हाल्दा-सम्हाल्दै अनियन्त्रित सारी नमिलेको ठाउँबाट तिघ्राहरू देखिन्छन् त्यसैले” नधकाई उत्तर फर्काइन्। म गम्भीर भएर हाँसेँ। त्यहाँबाट हिँडौंको सङ्केत गर्छु र रिक्सा चढ्छौँ। हाम्रो निर्देशनमा रिक्सा गुड्न थाल्छ।
“आज ‘लुङा’ कै मा बस्ने” उनी भन्छिन्। लिम्बू भाषामा सम्मानार्थी सम्बोधन ‘लुङा’ उनले बुझे नि, नबुझे नि मलाई उनले गर्ने सम्बोधन यस्तै हुन्छ सँधै।
“भै हाल्छ नि” म भनिदिन्छु।
हामी बजार, हनुमान मन्दिर, थाना रोड, चोक हुँदै…..क्रमश…पश्चिम लागेर लगभग दश मिनेट पछि क्याम्पस मोड पुग्छौँ र उत्रिन्छौँ रिक्साबाट। म दश रूपैयाँ निकालेर रिक्सावाललाई दिन्छु। अनि कोठा तिर लाग्छौँ। म बसेको घर कमल जंगलीको हो। वहाँको बारेमा धेरै राम्रा-नराम्रा कुराहरू सुने पनि मलाई वहाँ एउटा छोराको रूपले माया गर्नुहुन्छ। आमा जयकला आचार्य, भाउजू इन्दिरा, नानीहरू रचना, कान्ता, देव र बबिता पनि मलाई आफ्नो भन्दा बढी माया गर्नमा कुनै कसर बाँकी राख्दैनन्। त्यसो त काठमाडौंमा नै भए पनि ठूली भाउजु संगीता आचार्य, छोरीहरू रिचा र रितु पनि मलाई उतिकै माया गर्छन्। दाइ भने पनि साथी भने पनि मेरो आत्मीय सहयात्री हुन् टंक आर्चाय वहाँ पनि हुनुहुन्छ। वहाँको सहयोगी गुणको म सधै आभारी छु। बसुन्जेल मैले यहाँ आफ्नै घरायासी वातावरण पाएको छु। म त्यतैतर्फ पिंकीसँग प्रस्थान गर्छु।
यतिबेला रूममा एउटा खाट छ। टेबुल र कुर्सी। पश्चिम पट्टि कुकर र थाल बटुकोहरू छन्। कोठा प्राय अव्यवस्थित छ। म पिंकीलाई बस भन्छु ।
“इ रूम त यस्तै पो छ” मलाई कता-कता अप्ठ्यारो लाग्छ र बोल्छु।
“कस्तो हुनु पर्ने त ? धेर औपचारिक हैन नि” उनी पुनः दाहिने हातको चोर औंला मेरो नाकको छेउमै पुर्‍याएर बोल्छिन्।
“बस्तै गर है, म खाना बनाउँछु” मैले भने।
“म खाना बनाउन सघाउँदिन नि” उनले भनिन्।
“पर्दैन म एक्लै गरिहाल्छु नि यती जाबो” भनिदिन्छु।
लगभग आधा घण्टा पछि खाना तयार हुन्छ। हामी दुबै खाना खान थाल्छौं।
“प्रकाश जी खाना खानु भो” टंक दाइ जिज्ञासासँगै आउनु हुन्छ।
“धमाधम …पो….जाँदैछ” बस्नुहोसको संकेत गर्दै बोल्छु।
“अनि तपाईँले” सँगसँगै औपचारिकता पनि फर्काउँछु।
“अघि नै नि” बताउनु हुन्छ।
सायद अप्ठयारो महसूस भएर हो वा किन हो बीचैमा उठेर वहाँ तलातिर उक्लिनु हुन्छ। पिंकी र म खाना खाई सिध्याउँछौ। म जुठाभाँडा भेला पार्छु
“लुङगा आज तिम्ले धुने ल, केटीले मात्र कति गर्ने” उनी दिउँसो कै प्रसङ्ग मुछेर बोल्छिन्।
“ए भै हाल्छ नि” उनको वातावरण सहज बनाइदिन भन्छु। त्यसपछि म कलतिर लाग्छु। थालबटुका माझिसकेर, कुकरको कालो माझन थाल्छु। निकै बेर लाग्छ कुकर माझन। यति नै बेला झयालबाट उनी मलाई जिस्काउँदै सोध्छिन्।
“देख्यौ कस्तो लाग्यो, यस्तो गाह्रो काम नारीले मात्र कहिले सम्म गर्नै हँ ….-”
म मात्र …गल..ल….ल… हाँसी दिन्छु।
थालबटुका पखाली सकेर म भित्र लगेर थन्क्याउँछु।
“तिम्रो एउटा भेष्ट र हाफपेन्ट …छ” पत्रिका पढ्दा-पढ्दै आखाँ उठाएर खाटबाट सोधिन्।
“छ …..तर….” म अक्मकिएँ।
“किन, अप्ठायारो लाग्यो, मान्नु पर्दैन, मलाई त चल्छ” सहज उत्तर दिन्छिन्। म मेरो ट्राउजर रभेष्ट झिकेर उनलाई दिन्छु।
“लुङगा एकछिन बाहिर ल” मलाई अर्‍हाउँछिन्। म बिना प्रतिक्रिया बाहिर निस्कन्छु।
“झ्यालबाट चिहाउने होइन नि” उनी भित्रैबाट बोल्छिन् ।
“चियाउँदिन हो चियाउँदिन” म उत्तर फर्काउँछु।
“पुरूष जातिको त व्यहोरा नै पो त्यस्तै हुन्छ हैं” ब्यङ्ग गर्दै बोल्छिन।
यसपटक भने मलाई उनको बोली प्रति शंका लाग्छ। पटक-पटक पुरूष प्रति उनले किन यति सारो व्यङ्ग्य गर्छिन्। म भित्र-भित्रै घोरिन्छु। कारण थाहा पाउन म अब जानी-जानी उनीसँग विवाद गर्न थाल्छु।
“तिमारू चाहिँ कुन गतिला छौ नी” बाहिर बाटै बोल्छु।
“तिमी पुरूषहरू जस्तो घटिया व्यवहार चाहिँ हाम्रो छैन नि” उनी ढोका खोल्दै बोल्छिन्।
“पुरूषलाई धेर घृणा नगर, तिमी के पुरूष बिना जन्मियौ -” म आफ्नो अड्को थाप्दै कोठामा पस्छु।
“म त्यही पुरूषको रिल्याक्सको परिणाम त हो नि” उनी उत्तर फर्काइ हाल्छिन्।
“तिमीलाई यत्रो बनाउन कति दुःख गर्‍यो होला तिम्रो बुबाले” म उनलाई सम्झाउने चेष्टा गर्छु
“आमाले चाहिँ भनन” उल्टै मलाई सम्झाउँदै भन्छिन्।
“आमाको मात्र योगदान छ त तिमीमा -” म सोध्छु।
“हो आमाको मात्रै ! बाबु त केवल औपचारिकता मात्र हो” उत्तर दिन्छिन्।
“बुबाले नल्याए, नकमाए, घर परिवार थेग्न आमाले मात्र सम्भव हुन्थ्यो र” समझदारी होस् भन्ने ध्येयले म बोल्छु।
“किन हुँदैन, जत्ति हुन्छ। नारी स्वयम्ले पनि घर व्यवहार चलाउन सक्छन् तर यहाँको पुरूष प्रधान सामाजिक संरचना, धर्मग्रन्थद्वारा ग्रसित मनस्थितिवालाहरूको दास प्रवृतिले गर्दा आज नारीहरू चुलो, चौका, घाँस, दाउरा, मेलापातमा मात्र सिमित हुन पुगेका हुन” थोरै सोच्दै अनुहारमा भाव छल्काएर उनी बोलिन्।
“धर्मग्रन्थहरूले चाहिँ कसरी नारीलाई तल झार्‍यो नि -” म नजान्ने भएर थप उनलाई सोध्छु।
“प्रत्येक धर्मग्रन्थहरू पुरूष प्रति केन्द्रित छन्। ती सबै पुरूषहरूलाई मुख्य विषय बस्तु र महान बनाउन लेखिएका छन्। एउटा धतुरे शिवलाई नपाउँदा सतीले जलेर मर्नु परेको, पार्वतीले भोकभोकै पानी समेत नपिई खोलाको किनारमा रात दिन हावा हुरी नभनी, शिवलाई पाउँ भनेर बर्षौं तपस्या गरेको, लगायत हजारौं त्यस्ता उदाहरणहरू छन्। यी सबै झुटा कुराहरू हुन्। यी झुटा कुराहरू सत्ताधारी पुरूषहरूले बर्षौं बर्षदेखि लाद्दै आएकाले गर्दा आज हो न हो परम्परा सम्झेर नारीहरू सबै त्यसै गर्न थालेका छन्। म यस्तो झुटो कुरालाई कदापी धर्मग्रन्थ मान्दिन। म त ती धर्मग्रन्थ लाई मात्र एउटा पुरूषले पत्नीलाई (नारीहरू) सँधै- दबाएर राख्न लेखिएको झूठो षड्यन्त्रको जालो मात्र सम्झन्छु।” आफ्नो हातमा रहेको किताब राखेर मेरो टेबुलबाट उनले रामयणको किताब झिकिन् र अगाडि भन्न थालिन्।
“यी हेर यो रामायण, एउटा धतुरे पुरूष बाल्मिकीले रचेको हो। यो पुरूष आफ्नो जीउ भरी धमिराले गुँड लागाउँदा पनि थाहाँ नपाउने महामूर्ख, धुर्मुस हो” उनी आक्रोशमा आएर हातहरू हल्लाउँदै बोल्छिन्।
“…तर साहसी ऋषिमुनि, जप-तपमा बसेका सिद्घ पुरूषहरू त त्यस्तै हुन्छन् नि” म प्रसङ्ग थप्छु।
“यो तिमीहरू जस्तो पुरूषले भन्ने कुरा हो। म त भन्छु सन्यासी, ऋषि सबै-सबै घर व्यबहार र जीवनबाट हारेर भागे पछिको परिणाम हो।” उनले भन्दा भन्दै क्रमश थपिन् “अनि अर्को कुरा यो रामायण कसले नेपालीमा अनुवाद गरेको थाहा छ - त्यसले, जो नारीहरूलाई हँासेको, बोलेको, हिंडेको, आराम गरेको र जान्ने भएको देख्न चाहँदैन, के त तिमीहरूकै आदिकवि भनाउँदाले” मलाई प्रसङ्गले घोच्दै भनिन्।
“कहाँ हाम्रो मात्र हो र तिमीहरूको पनि त आदिकवि हो नी” म भने जसो गर्छु
“यो राज्य पुरूष केन्द्रित राज्य हो, त्यो आदिकवि तिमी पुरूषहरूले नै दिएको उपाधि हो। म चाहिँ त्यस्ता नारी विरोधीलाई आदिकवि मान्ने पक्षमा छैन” उनले भनिन्। “प्रकाश जी निदाउनु भो” माथि तलाबाट टंक दाइले सोध्नु भयो।
“सुरसार हुँदैछ” भन्छु।
“अब सुन, आज यो समाजले श्रीपुरूष भगवान भनेर रामलाई मान्छन् तर जाबो एउटा धोबीको कुरा सुनेर आफ्नो राज्यकाल बिग्रिन्छ की भन्ने स्वार्थले जीवनभर भोक, तिर्खा, काँडा, बिच्छी, सर्प, पहाड, जंगल, नदिनाला नभनी साथ दिई हिँड्ने आफ्नो पत्नी त्याग्ने महास्वार्थी पुरूषलाई म भगवान भनेर एक मान्दिन, दुई मान्दिन, तीन मान्दिन बुझयौ” रामायणको किताब पछार्दै बोलिन्।
म उनको कुरा र तर्क सुनिरहन मात्र चाहान्छु र भन्छु-
“अरू नि”
“अनि के’रे तिमेरूको अर्को भगवान, श्रीकृष्ण” जाने पनि नजाने बहाना गरे झैँ गरेर बोल्छिन् उनी र थप प्रसङ्ग कोट्याउँछिन्।
“सोह्रसय गोपिनी खेलाउने भनेर उसको चर्चा हुन्छ तर म भन्छु त्यो निराधार कल्पना मात्र हो। एउटा काले, हेर्दै अंगार जस्तो पुरूषसँग १६ सय नारीहरू झुत्तीएको कुरा सब बकबास हो। नारीहरू के खेलौना हुन र - यदी त्यो नारीहरूलाई खेलाउने पुरूष श्रीकृष्ण हो नै भने पनि मात्र त्यो मेरो नजरमा ‘रण्डो’ अथवा ‘पुरूषवेश्या’ ‘प्लेब्याइ’ हो। त्यस्ता प्लेब्वाइलाई भगवान बनाएको कसलाई थाहा छ ?
उनी मलाई सोध्छिन्।
“अहँ” म जाने पनि नजान्ने भए झैँ अभिनय गरिदिन्छु।
“त्यही अर्को पुरूष वेश्याले” थप्छिन्।
“त्यो लेख्ने त वेदब्यास होइन र ?” म जिज्ञासा राखे जस्तो गर्छु
“अनि थाहा रहेछ त, हो त्यही धुर्मुस साधु हो” भन्छिन्।
“उनी त महान तपश्वी ऋषिमुनि पो हुन त” म प्रसङ कोट्याउन भनिदिन्छु।
“यो पनि तिमीहरूकै लागि होला, मेरो लागि हैन। किनभने महाभारत रच्ने र कल्पने त्यही धुर्मुस हो। आज त्यही धुर्मुसलाई सबैले पुज्छन्, त्यो एकदम भयानक भ्रम बनेको छ। बाहिर-बाहिर सन्त महन्त बनिने, मनमा चाहिँ स्त्रीहरूसँग लिला रचेको मात्र सम्झने कुण्ठित त्यो पनि ‘प्लेब्वाइ” नै हो मेरो नजरमा। आफूले गरेको भन्नु नमिल्ने भएकोले उनले श्रीकृष्ण पात्र बनाएर त्यसमा आफूलाई घुलाई, गोपिनीहरूसँग लिला रचेका हुन्” भन्दै क्रमश थपिन “कुन्ति, द्रौपदी…..हरू लगायत एउटी स्त्री माथि बहुसंख्यक पुरूषहरूले यौन शोषण गरे। एउटी स्त्रीलाई यसरी व्यभिचार गर्नु हुन्न भन्ने ती भगवानका उपमा पाएका पुरूषहरूले किन सोचेनन् - कारण स्पष्ट छ- पुरूषले पुरूषलाई महान बनाउने ढ्वांग गर्नु। आज महिलाहरू बेश्या भनिएका छन्, कस्को कारणले थाहा छ - पुरूषको कारणले। के पुरूष बिना नारी मात्र बेश्या बन्न सम्भव छ - वेश्या कस्ले जन्मायो त्यही भगवान भनाउँदा इन्द्रले, जसले आफ्नी जीवनसाथी हुँदा-हुँदै अप्सरा, उर्वशी, मधु इत्यादीको रस चुसिरह्यो। बेश्याको कारक तत्व नै पुरूष हुन्” भनि सक्ता-नसक्ता खाटबाट खुट्टा तल झुन्डयाउँदै थपिन् “सृष्टिको कारकतत्व नभए पुरूष त नभए पनि हुन्छ”
“अनि अरू” उनले यस्तै तर्क अगाडि बढाउन् भनेर म बोल्छु।
“महिनौं दिनसम्म आफ्नो लोग्नेको दीर्घायू र स्वास्थ्यको लागि स्वस्थानी ब्रत बस्न बाध्य गराइयो, नारी जातिलाई तर त्यसरी ऊ व्रत बसेकै बेला लोग्ने भनाउँदाहरू चाहिँ नाठिन्छन् र आफ्नो गन्ध हराइ अन्यत्रैको गन्ध लिएर आउँछन्। रातारात श्रीमानको आगमन ढिलो भएकोले आत्तिएर बसेकी स्वास्नीले किन अबेर गर्नु भो भनेर सोध्यो भने मात्र पनि मुख लाग्छस् भनेर लात हान्छन्। यहाँको श्रीमान भनाउँदा पुरूषहरू”
यति भनि सक्दा नसक्दा साँच्चै उनको अनुहारमा रगतहरू जमेको भान पाउँछु म। लामा श्वासहरू खुम्चँदै फुक्दै गरिरहेका छन्। पसिनाका थोपाहरू अलिलि टुसाएको भान हुन्छ उनको अनुहारमा। म घडि हेर्छु रातको एघार बज्न लागेको छ।
“११ बजेछ” अब आराम गर्नु पर्छ कि भन्ने आसय राखेर बोल्छु।
“जहिले पनि बज्छ नि” उनी तुरून्तै उत्तर फर्काउँछिन्।
“मैले घर माथि तिमी सुत्ने व्यवस्था गरिदिएको थिएँ” एउटै मात्र खाट भएको विवशता बुझाउँन भने।
“होस्, अरूकोमा किन जाने यहीँ सुत्ने” उनले हलुकै भनिन्।
“तर….” यति भनेर के भनौं, के नभनौं भएर म अलमल्ल परेँ।
“किन कुनै शंका छ तिमी आफूमा -” सोधिहालिन्।
“छैन…” मैले भने।
“दुबै जना यही खाटमा सुत्ने बुझयौ” मलाई जानकारी नै नभए जस्तो गरी जानकारी गराउँदै पुनः भनिन्। म अक्क न बक्क भएँ। यसरी स्त्रीसँग एउटै खाटमा निदाउने अवस्थाको म कल्पना सम्म गर्दिनथेँ। नाइँ भनौ पिंकीको अगाडि म सँधैभरि कातर हुने। ल भनौँ भोलि अरूले के भन्लान्। यद्यपी आफू इमान्दार भए किन डराउनु भन्ने सम्झेँ। उनी एउटी हृदय सफा भएकी साथी हुन भन्ने पनि मनन् गरे।
“के भो लुङा… - धक लाग्यो कि क्या हो -” ओछ्यानमा ढल्कँदै उनी बोलिन्।
“के को लाग्नु…” मैले सहज छु जस्तै गरी बताएँ।
“उसो भए बत्ती मारेर आऊ” भित्तातिर सर्दै भनिन्। त्यसपछि मैले बत्तीको स्वीच अफ गरेर मन दह्रो बनाई ओछ्यानमा पसेँ। उनी भित्तातिर फर्किइन्। मलाई भने मनमा कता-कता मिठो त्रास भैरहेको थियो।
निडर, सफा मन, इमान्दारी, आत्मीय मित्र मात्र थिइन् पिंकी। उनी साँच्चै आकर्ष पनि थिइन्। बिना श्रृङ्गार नै उनी अति राम्री देखिन्थिन्। उनको डालीलो जीउ, बारूलेे कम्मर, हिउँदको खोला झैं निला आँखा, कता-कता आकर्ष दिलाउने कपाल, समतल भू-भागमामा उठेको डाडाँ झैँ वक्षस्थल, हिंड्दा लचक्क लच्किने नितम्ब, कोइली झैँ मिठास बोलीभित्रको तार्किकता, गहुँगोरो रङ्ग।
यस्तै-यस्तै गुणहरूले भरिपूर्ण उनलाई धेरै युवकहरूले प्रेम प्रस्ताव पनि नराखेको भने होइन।
“दायाँ बायाँ चाहिँ गर्ने हैन है लुङा” मेरो कल्पना भङ्ग पार्दै बोलिन्।
“जानी-जानी मलाई कन्टेनरमा हात हाल्नु छैन” मैले जिस्काउँदै भनिदिएँ। यतीबेला सम्ममा हामी बीच शरीर र हातहरू भने स्पर्श हुन थालेका थिए। म नचाहँदा नचाहँदै पनि सिरिङ्ग भएँ आफैँमा, तर सहजता प्रस्तुत गरिदिएँ। नत्र उनले भोलिदेखि मलाई पैह्रो गए भन्दा सारो खैरो खन्थिन्।
“पुरूषलाई के ‘डन्लप’ के ‘राडी’ के ‘कन्टेनर’ सब उही हो” भित्ताबाट म तिर फर्कदैँ निद्रा लाग्न थालेको स्वरमा भनिन्।
“किन, पुरूषको असल र खराब छुट्याउने खुबी हुँदैन कि क्या हो” मैले भनेँ।
“भए देखि सडकमा हिँड्ने ‘बहुलाई’ ‘लाटी’ ‘पशु’ माथि किन जाई लाग्थे त” उनले भनिन्। हामी गफ गरेको कोठामा यतिबेला निष्पट अँध्यारो छ तर एउटा प्वालबाट चन्द्रमाको थोरै किरण भने छिरेर आएको छ। त्यो हाम्रो सिरानीमा परेको हुन्छ।
“त्यो त एउटा दुर्घटना मात्रै हो” म आफ्ना भनाइ राख्छु।
“दुर्घट्ना होइन लुङा, यो दुर्घट्ना कम नियत ज्यादा हो …. बुझ्यौ” उनले भनिन्।
यति भनिसक्दा-नसक्दा झयालको प्वालबाट छिरेको जुनको किरण उनको आँखामा परेर टल्कन्छ। म छायाँ भित्रबाट उनलाई नियाल्छु। उनी एकदम जागै छिन्। “ल निदाउँ, मैले हारेँ” म उनी जाग्ने सुरसार बुझछु र भन्छु। यस पटक भने मेरो कुरालाई कुनै प्रतिक्रिया फर्काउँदिनन्।त्यसपछि हामी निदाउँछौं। अचानक आधारातमा मेरो घुँडामा कसैले विस्तारै हिर्काएको थाहा पाउँछु।
“के हो” निन्द्रामै प्रश्न गर्छु
“यो हात र खुट्टा चाहिँ के हो हँ लुङा” पिंकीको स्वर आउँछ।
म उनीसँग छु भन्ने सम्झिई झस्कन्छु। खुट्टा हेर्छु कतिबेला उनलाई बोकाएछु-बोकाएछु, थाहा छैन। उनी उत्तानो परेकी रै’छिन्। मेरो खुट्टा उनको कम्मरमाथि हुन्छ। हात हेर्छु आफैलाई आफै सरम लाग्छ र काउकुत्ती लागेर आउँछ। मेरो हात उनको वक्षस्थलमाथि हुन्छ। के गरौँ-के गरौँ हुन्छु म। हतार-हतार म आफ्नो हात र खुट्टा उनको शरीरबाट अलग गर्छु ‘सरी’ है भन्छु। उनी अन्जानमा भएको मेरो अवस्थालाई साधरण रूपमा लिन्छिन् र घोप्टो परेर निदाउँछिन्।
म भने सोचमग्न बन्छु। लोग्ने र स्वास्नी मात्र एउटै खाटमा निदाउँछन् या एउटै खाटमा निदाउने मात्र लोग्ने स्वास्नी हुन्छन् भन्ने मान्यताको तस्वीर मेरो मनको एल्बम्बाट क्रमशः निस्कँदै छ। ‘पिंकी र म ‘ दुवै अविवाहित छौँ। उनी जवान युवती म जवान युवक। उनी आर्य म मङ्गोल। हामी बीचको आत्मीयता एउटा प्रेमी र प्रेमिका वा लोग्ने र स्वास्नी, भन्दा अलग र नजिक छ। कल्पँदा-कल्पँदै कोल्टे फर्कन्छु यत्तिकैमा थाहा छैन म कतिबेला निद्रामा मुछिन्छु।
अचानक बाहिर टुवेल चलाएको आवाजले म ब्युँझन्छु। बुझ्छु टंक दाइ नुहाउँदै हुनुहुँदो रहेछ। घडि हेर्छु विहान ५:३० भएको हुन्छ। त्यसपछि आफूतिर केन्द्रित हुन्छु। निद्राबाट जागा भएदेखि आफ्नो जीउको अटेसमटेस अवस्था नियाल्छु। मलाई साह्रै अप्ठ्यारो दृश्य नजर पर्छ। अहिले रातको विपरीत शारीरिक अवस्था छ पिंकी र म बीच। यतिबेला उनको खुट्टा मेरो जीउ माथि छ। हापपेन्ट छोटो भएकोले गर्दा सुर्किएर कपास झैं तिघ्राहरू सब छर्लङ्गै देखिएका छन्। यता हात भने मेरो शरीर अंगालेको अवस्थामा छ। भेष्ट पनि सुर्किएर माथि-माथि पुगेको हुन्छ। आजसम्म बर्णको बयान गर्न नसकेका मोहित वक्षस्थल सबै-सबै देखिन्छन् भित्री लुगामा। उनको टाउको मेरो घाँटीको कुनामा लुकेको हुन्छ, कुखुराको चल्ला माउसँग घुस्रिए झैँ। जीउ सबै-सबै र्सवाङगै छ भन्दा पनि हुन्छ। उनको शरीर मेरो शरिरसँग टाँसिएको छ। मैले यो अवस्था, यस्तो दृश्य जीवनमा पहिलो पटक भोगिरहेको छु। अनायसै म भित्र भने अप्ठ्यारो, लाज, उमंग, त्रास, एकैचोटी पैदा हुन्छ। अहिले सम्ममा बाहिर निकै उज्यालो भै सकेको हुनाले म उनलाई विस्तारै हातमा हिर्काउँछु। उनी अन्कनिंदै ब्युँझिन्छिन्।
“यो चाहिँ के हो नि सर” मैले पनि उनलाई ब्यङ्ग गर्दै सदा झैं सम्बोधन गरेर भने।
“ए पालोको पैँचो पो फर्किएछ त” उनले कुनै अप्ठ्यारो नमानी भनिन् र बिस्तारै म बाट आफ्नो शरीर अलग गरिन्।
“के हो लुगाहरू मिलाउ न” मैले जीउको अवस्था जानकारी गराउँदै भने।
“नेत्र भोजन दह्रो भयो होला नि लुङा” आफ्नो लुगा मिलाउँदै मलाई ब्यङ्ग्य गरिन्।
“भो-भो एका बिहानै निहुँ नखोज” म भनिदिन्छु।
त्यसपछि हामी दुबै ब्युँझन्छौँ र नित्य कर्म तर्फलाग्छौँ।
नित्यकर्मको समाप्तिपछि टंक दाइ हामीलाई चिया पिउन निम्त्याउनु हुन्छ। पिंकी र म चिया पिउन तला उक्लन्छौं, टंक दाइको निम्तो मुताविक। चिया पिएर थोरै गफहरू पछि पुनः कोठामा नै आउँछौं। धनकुटे कान्छा र भुपेन्द्र तिम्सिना पनि आउँछन्। एकक्षण गफगाफ पछि उनीहरू आफ्नो गन्तव्य तर्फ प्रस्थान गर्छन्।
“अँ भनन तिमी किन यति सारो पुरूषलाई घृणा गर्र्छौ हँ” म उनीहरू गएको लगत्तै साँझको अपुरो प्रसङ्ग कोट्याउँछु।
“ठिकै छ ल सुन” कुनै बहानाको तर्क नराखी लामो श्वास तानेर भन्न शुरू गरिन्।
“जब म सानो थिएँ, मलाई राम्ररी थाहा छ, हाम्रो परिवारमा एकदम सुख र शान्त थियो। आमा, बाबा र म तीन जना थियौँ त्यस समय। मलाई आमाको भन्दा बाबाको माया बढी लाग्थ्यो। मलाई सुत्न, खान, हिँड्न जे गर्न पनि बाबा भएपछि आमाको वास्ता नै लाग्दैनथ्यो। म जति-जति ठूली हुँदै गएँ……क्रमश घरमा फाटो बढ्न थाल्यो। बाबाले मलाई दिन-प्रतिदिन माया भन्दा गाली र घृणा गर्न थाल्नु भयो। म दश बर्षो हुँदासम्म यो अवस्था अझ झयाँगिएर गयो। तत्पश्चात बाबा मलेशिया जानु भो। इष्टमित्र छरछिमेककाहरू पनि त्यस तर्फगएका थिए। अरू सबै छिमेकीहरूले उनीहरूको घरमा पुगेकै महिना पत्र पठाए तर हाम्रो बाबाले पठाउनु भएन। फोन पनि गर्नु भएन। रकमको त कुरै नगरौं। बल्लतल्ल एकबर्षछि पत्र सहित केही फोटोहरू पठाउँनु भयो। अर्धनग्न युवतीहरूसँग चुम्बन गरेको, आलिङगन् गरेको, फोटोहरू थिए त्यसमा। पत्रमा यी मेरा साह्रै मिल्ने साथीहरू हुन भनेर लेख्नु भएको थियो। यो देखेर आमा असाध्यै रूनु भयो। समय अनवरत बगिरह्यो। छिमेकीहरू दर्ुइ, तीन बर्षा घर फिरे तर बाबा भने फिर्नु भएन। दुई वर्षपछि त खबर-खाबर नै आउन छाड्यो। फर्केर आउनेहरूले “उतै विहे गरेर बसेको छ, तरूनी सँग मस्त छ” जस्ता कुराहरू लिएर आउँथे। यस्तो खबरले आमा दिन-दिनै दुब्लाउँदै जान थाल्नु भयो। मलाई आमाको अवस्थाले ज्यादै चिन्तित तुल्याउँथ्यो। तर गर्न नै के पो सक्थें र।
पाँच वर्षपछि बुबाको आगमन भयो। वहाँ खालि हात आउनु भयो ता पनि आमाले किन ल्याइनस् भनेर प्रश्न गर्नु भएन। ढिलै भए पनि आफ्नो पति फर्किएकोमा नै वहाँ खुसी हुनुहुँन्थ्यो। बुबा आउनु भएको हप्तादिन पश्चात एकाएक घर-झगडा भयो। “म नहुँदा अरूसँग सल्किस् हैन”
“छोरा नपाउने कुकुर्नी !” जस्ता कुराहरूले आमालाई घोच्नु भो।
“अब अर्की नभित्राइं कहाँ छोड्छु र !” पनि भन्नु भयो। भन्ने-नभन्ने त कति भन्नु भो, भन्नु भो। त्यसको तीनदिन पछाडी वहाँले कान्छी श्रीमती घरमा ल्याएर भित्र्याउनु भो।
“निस्केर जा” भनेर आमालाई मरणाशन्न हुने गरी पिट्नु पनि भो। आमा र म रूँदै रातारात मावलीघर गोल्धाप पुग्यौँ। त्यहाँ पनि हजुरआमा खसेकोले हजुरबाले कान्छी श्रीमती अघिल्लो बर्षमात्र भित्र्याउनु भएको थियो। त्यसैले हामी बसेको वहाँहरूलाई सह्य भएन। घर जाऊँ कसरी जाऊँ, नजाउँ कहाँ जाउँ भनेर आमा दोधारमा पर्नु भयो”
कठोर हृदय भनेर मैले जानेको पिंकीको आँखामा अचानक आँसुका ढिक्काहरू देखिन्छन्। मलाई अचम्म लाग्छ। म उनलाई सान्तवना दिए जस्तो गर्छु थप उनी अनुहारमा आक्रोश उभ्याएर कहानी अगाडि बढाउँछिन्।
“त्यसपछि हामी मावलाबाट कोल्बुङ्ग पुग्यौँ। त्यहाँ आमाको असाध्यै मिल्ने साथी हुनुहुँन्थ्यो। त्यहाँ दश पन्ध्र दिन जति बस्यौँ। अचानक एकदिन आमा बिरामी हुनु भो। बिरामी भएपछि मनपरी बोल्न थाल्नु भो। जङ्गली पो लाग्यो कि भनेर धामी, झाँक्री लगायौँ तर अहँ वहाँ निको हुनु भएन। वहाँकै साथीसँग त्यहाँबाट उपचारको लागि लिएर सिलगुडी पुग्यौँ। चाङको अस्पतालमा देखायौँ। थाहा भयो कि, वहाँको मानसिक सन्तुलन गुमेछ। वहाँको साथीले हामीलाई त्यही हस्पिटलमा छाडेर हिंड्नु भो आफ्नो कार्यव्यस्तता देखाएर। हस्पिटलबाट जसो-तसो बाहिर आएँ आमालाई लिएर। आमा मलाई नचिन्ने भइसक्नु भएको थियो। हामी प्रधान नगर हुँदै सेवक मोडमा पुगेका थियौँ। एक्कासी आमा दगुरेर रूँदै बाटो काटी हङ्कङ मार्केटतिर छिर्नु भो। गाडीको चाँप र भीडले मैले ढिलो मात्र बाटो काटन सकेँ। त्यहीबेला सम्ममा आमा कहाँ हराउनु भो कहाँ। रूँदै चेपचाप सबै तिर खोजेँ तर अहँ ! भेटिन। पहिलो पटक सिलगुडीको यात्रा भएकोले त्यो भव्य कोलाहल भित्र म ज्यादै त्रसित र एक्ली पनि भएँ। पैसाको नाममा मसँग भारू ५० मात्र थियो। एउटै बाटो पनि दर्जनौँ पटक हिंडेको देखेर सबै-सबै छक्क परेर मलाई हेरिरहे। आमा कहाँ हराउनु भो, कहाँ। खोज्दा-खोज्दै साँझ पर्‍यो। मनले नचाहदाँ-नचाहँदै पनि आफ्नो असुरक्षाको भयले म नेपाल फिर्न बाध्य हुनु पर्‍यो। आमा दगुरेर गएको बाटो हेरी रूँदै-रूँदै म पानीटेँकी आउने बसमा चढें। साँझ परि सकेको थियो। पानीटंेकीमा उत्रिएको मात्र के थिएँ, अचानक दुई तीन जना युवकहरूले मलाई समातेर रेलको लिगमा लगी हातपात गर्न खोजे। लाखौं प्रयासका बाबजुद मैले मेरो अस्तित्व भने जोगाएँ तर ती निर्दयीहरूको चिनो अझैं छ यी हेर।” भनेर उनले आफ्नो घाँटी र तिघ्रामा कोतरेको पुरानो दागहरू देखाइन्।
“त्यसपछि के भो” मैले चासो देखाएँ।
“त्यसपछि म बल्ल-बल्ल काँकडभिट्टा आएर चिनेको मान्छेकोमा बास बसेँ। मेरो पनि घर बाहेक जाने अरू ठाउँ थिएन। जुन ठाउँले मलाई घृणा गथ्र्यो त्यही ठाउँमा म पुन फर्किएँ। अनि मेरा दिनहरू यति दर्दनाक भएर बित्यो की आज पनि सम्झँदा म दुख्ने गर्छु उनले भनिन्।
“अनि आमा पत्ता लाग्यो त ?” मैले सोधेँ।
“त्यसको छ महिनापछि पिसीमित्तलमा गाडीले किचेर वहाँको मृत्यु भएछ। वहाँको लाससम्म देख्न पाइन। सानीमा र बाबालाई कुनै चासो रहेन। मलाई भने मेरो जन्मदिने आमाको घट्नाले सँधै-सँधै पुरूषप्रति मनभित्र घृणा जन्माइ रह्यो।” सम्वेदनशील हुँदै भनिरहिन्।
“एउटी स्वास्नी मान्छे, जो आफ्नो पतिको लागि रात दिन दीर्घायू भाकिरहन्छिन्। भोक, प्यास, केही नभनी ब्रत बसि रहन्छिन्। उसैलाई आफु जस्तै वेश्या सम्झेर नाठा खेलाइस् भनि झूठो आरोप लगाई, बहुलाउनु र मर्न बाध्य तुल्याउनु कस्तो नियत हो यहाँका - पुरूष भनाउँदाहरूको”“म त भन्छु वर्षौं देखि पुरूषहरूले चाहिँ चौबिसै घण्टा केटी खेलाउँदा हुने, स्वास्नी मान्छेले चाहिँ केही बोल्नै नहुने -” आक्रोश पोखिन्।
“पुरूषलाई तिर्खा लाग्दा, भोक लाग्दा, निद्रा लाग्दा, थकाइ लाग्दा हुन्छ आइमाइलाई लाग्दा के हुन्छ -, त्यसैले मेरो नजरमा मैले भोगेको चश्माबाट हेर्दा म संसारमा सबैभन्दा नीच र घृणित सम्झन्छु पुरूषलाई।”
उनको कुरा र दृष्टिकोणलाई मैले यसपटक भने होइन भनेर तर्क राख्न उचित ठानिन।

Monday, March 17, 2008

मेरी दुर्गीका कुरा

रवि भट्ट रोषी
चुरो नपसेको छोरो शूरो पल्ट्यो भने भरिभन्न गर्छ । "बैदारबूढाले बुढेसकालमा बल्ल-बल्ल कनी-कनी पाएको एक्लो छोरो भनेर मत्याएर राखे, आखिरमा टाउकोमा टेकेर कसैले पनि भनेको नमान्ने अटेरी भएर पो निस्क्यो ।बाँटुली माइलीको छोरी हिजो साँझ घट्टमाथिको समीको चौपारीमा राना बूढाको छोरासँग ठुँड जोड्दै साउती मार्दै थिई आज बिहानै खाली पेटमा राना बूढाको छोरा टिपेर पोइल पो हिडिछ नि बाई, अलिकति पनि लोकको डर नमान्ने कस्तो छाडा भा का नि बरिलै ।माँथि अमलपानीको अधिकारी बूढाको बुहारी अंगालोभरिको सरसराउँदो लोग्ने हुँदा-हुँदै ड्राइभरसग लहसिएकी रहिछे । लसपसकै बेलामा गाउलेले काँचो आँखाले देखेपछि चारजना समाज जोडेर ड्राइभरलाई नै टासो लगाइदिएर पठाइदिएछन् । कस्ती बाइफाले रहिछे है नक्कली त । आँगनभरि ग्यालग्याल्ती छोराछोरी अस्रल्ल पारेर अर्काको ओछ्यान हुन कसरी सकेकी हो -सुनिनौं - लौटेकी स्वास्नीको कुरा - मर्लान्तरी पिट्यो रे बूढोले जाडको सुरमा । चुल्ठो समाएर ढोकाबाट हुत्याएर ढुंगामा बजारिदियो रे खँडेलीमा । जीउभरि डाम छरे चुटेको । घर छोडेर हिडेको पनि सात दिन भइसक्यो रे तैपनि भोकभोकै अर्काको आँगन पीढीमा सुत्दा पनि आँखाभरि माया भरिएर आउछरे त्यै लौटे
मोराको । माइत नजिक भए पनि दरदुइचार दिन दुःख छल्दी हो । एक झप्का निन्द्रा त पानीमाथि पनि परिहाल्छ नि दिदी । दुइचार दिनमा त मन फर्केला नि भन्दै एक्लो ज्यान पल्टिएकी छे धुस्ना माथि । न डँडाल्नामा चोलो पूरा छ, न तल सिङ्गो फरिया नै छ । अझै पनि त्यै धसिंगरे मोराको माया लाग्छ भनेर निन्याउरो मुख लाउँथी ।
हाम्रा ग्रामीण समुदायमा आंशिकरूपमा घट्ने गाउँघरका घटनालाई पँधेरा भर्न जाने पँधेर्नीहरू,गोठाला जाने गोठाल्नीहरू र मेलापात रनवन चहार्ने सबैका नारी ज्रिब्रोमा सल्बलाउने दैनिक बोल्तीलाई जस्ताको तस्तै थुपुक्क राखेर महिला पंक्तिबाट सत्तोसराप बटुल्ने धृष्टता गरेको चाहि पक्कै हैन । मेरो लेख पढेर पचाउन सक्नेले यसले त मनकै कुरा लेखेछ भनेर मनमनै मुसु-मुसु हाँस्दै मस्किन पाउने अधिकार पनि तपाईहरूलाई नै छ । पचाउन नसक्नेले नकचरो मोरो भनेर आँखा तर्दै नाकको डाँडी बंग्याउदै आँखीभौं सोहोर्न पाउने अधिकार पनि तपाईलाई नै छ । त्यसको विरोधमा उत्रिनु भनेको अरिङ्गालको गोलोमा झटारो हान्नुसरह हुन जान्छ । म त्यत्ति जोखिम मोल्न सक्ने हुतिवान पनि परिन ।
एकताका हाम्रा गाउँघरतिर मद्रासका हात हेराउने ज्योतिषको हुल पसेझैं महिला सीप विकासको नाममा थुप्रै एनजीओको ओइरो लागेको थियो । सिलाइ-बुनाइ, एम्ब्राइडरी बाटिक पेन्ट, फेब्रिक पेन्ट स्वेटर बुनाइ तालिम आदि-इत्यादि । वल्लाघरे पल्लाघरेको लहैलहैमा लागेर महिला सीप आर्जन गर्ने लहड हाम्री जहानलाई पनि लागे
छ । झम्के साँझमा बेंसीबाट घर आइपुगेको के थिए जहानको बोल्ने शैलीमा अलि भिन्न पाए । कत्ति सधै काम काम भनेर मरिहत्ते गर्नुहुन्छ । कहिलेकाहि उज्यालोमा घर आउनुभए पनि हुन्थ्यो नि । आफ्नै मान्छेसगै भएर पनि पेटभरि मनको कुरा गर्न पनि नपाउने भन्दै बडो लयालु पारामा लजाउँदै भनिन् । हे दैव सधै नवदुर्गा बन्ने दुर्गा नामकी मेरी जहानलाई यस्तो नम्र भावमा बोल्ने सद्बुद्धि कहाँबाट पलायो ह-भनेर आर्श्चर्यबिभोर भए। आफैंलाई चिमोटेर विस्मृत हुन खोजे। म म नै रहेछु । बलेनी खाँबो समाएर पीढीको पालीबाट आधा ढाड बाहिर निकालेर हातमा पानस लिएर बोल्ने पनि मेरै गृहलक्ष्मी नै रहिछन् । अडिलको नल्काको पानीले हात खकाल-खुकुल पार्दै दौराको फेरोमा हात लतारेर भात खान भित्र हुत्तिए। फापरको ढिडोको थाप्लोमा तोरीको साग लुत्रुक्क झार्दै दाहिने घुडामाथि दुइटा हात लपक्क खप्ट्याएर बोहोतामाथि थुपुक्क कलश अड्याएझैं खप्टिएका हात माथि चिउडो टुसुक्क अड्याएर मलाई लोभलाग्दो नजरले टुलुटुलु हेरेर बसिरहिन् । सधै कर्कश व्यवहार गर्ने गृहलक्ष्मीको त्यो
करुणादायक हेराइले म पनि भुतुक्कै भइहाले। फापरको ढिडोको डल्लो कुप्लुक्क मुखको दुलोबाट घुसारेर देब्रे बंगाराको डिलमाथि गालाको भित्तामा अडेस लगाउँदै असजिलो आवाज निकाल्दै फुसुक्क सोधीहाले। के भो दुर्गी तलाई - आज त तेरो बोलीमा निकै मिठास पाउँछु। किन यत्तिबिघ्न खुसी र लजालुपन झल्केको छ हतेरो मुखा । ऊ पनि के कम थिई र पोथी कुखुरीले कोर्कोराएर भालेलाई र्समर्पणका निम्ति आह्वान गरेझैं मलाई पनि त्यस्तै चित्ताकर्ष हाउभाउ कटाक्ष प्रस्तुत गर्दै गा“ठी कुरा खोलिहालिन् । "हर्ेर्नु न गाविस भवनमा सिलाइ-बुनाइ तालिम आ'को छ रे । -तपिल्दार) तहविल्दार बाजेको बुहारीले सिक्न जान पर्‍यो भनेर हत्ते गर्नु भा'को छ । मैले घरमा सोधेर निधो गरुम्ला दिदी भनेर पर्खाएर राखेकी छु । गाम्का सबैका छोरीबुहारी सिक्न गएको ठाम्मा मलाई पनि गरालो नहालिदिनु न है -भनेर रुन्चे पारामा भनिन् । के गर्ने आफ्नो पनि कर्कलाको पानी जस्तो मन, सबैका छोरीबुहारी सिक्न ग'को ठाउ“मा न जा भनेर केलाई पो एक्लो बृहस्पति बन्नु भनेर लौ जा त नि भनेर जहानको दाम्लो फुकाएर छोडिदिए। हरे शिव त्यस दिनबाट कोक्रामा रोएको छोरालाई काखमा पसार्दै त्रि्रा हल्लाउँदै हः हः बाबु हः हः बाबुको आमा पर भन्दै च्वः च्वः गर्दै धाइआमाको काम पनि आफैंले बेहोर्नुपर्‍यो । गोठको बस्तुभाउको धन्दादेखि चूल्हो चौको पनि आफैंले चहार्नुपर्‍यो । काम सिक्न गा'को एक महिनाजति के भा'थ्यो । काम सिकेर ऐनाजस्तो भएर आउ लिन् भनेकी गृहलक्ष्मी त परर बोल्ने मैनाजस्तो भएर पो आइन् नि गाँठे । काम सिकेको पनि तीन महिना भइसक्यो अब त कामको भाका टिपिसकिहोलिन् भनेर एक दिन फलाटिनको कपडा ल्याएर छोरालाई भोटो दौरा तगिदेउन त भनेर उर्दी लगाइदिए । १५ चोटी छोराको गला र पाखुरा, त्रि्रा र पिंडौलाको नापो लिएर सपाङ्ग कपडा लिएर गएको हप्ता दिनमा सिलाएर ल्याउन त ल्याइन् सपाङ्ग कपडा अपाङ्ग बनाएर पो ल्याइछन् । दौराको एउटा बाहुला छोटो त अर्को चाहि“ हातै पुरिने भएछ भने सुरुवाल चाहि“ बाँसको गबुवाको खोलजस्तो तलदेखि माथिसम्म सुलुत्त बेढङ्गको प्रारूप दिएर पो ल्याइछिन् । तै पनि छिरी हाल्छ कि भनेर उसले खोकिलामा हात हालेर छोरो उचाल्ने मचाहि छोराको खुट्टामा सुरुवाल घुसारी टोपल्ने भएको गोलीगाँठोसम्म त जेनतेन छिरेको थियो त्यसभन्दा माथि पनि तैबिसेक छिरिहाल्छ कि भनेर बल गर्ने भएको नाकको डाँडी निधारमाथि पुर्‍याउँदै छोरो त च्याँठिन पो थाल्यो ।
'तेरो तीन महिने सीपको पायन् पनि देखियो । भैगो बाबै फाली पिट्नेले मादल बनाउन खोज्यो भने ढंग पुग्दैन । बरु घरकै करेसो बारी चहारिस् भने यसो हरियो परियो त मौलाउँथ्यो नि" भन्नमात्र के भ्याएको थिए परपुर्ववत् स्वभाव पदर्शन गर्दै उनको चोरी औंला मेरो नाकैमा ठोक्काउ लाझैं गर्दै खहरे खोलाझैं सुसाउँदै गर्जिन पो थालिन् । के सम्झेका छौ हामी महिलालाई - महिला जातिको अपमान गर्नेलाई के गर्नुपर्छ हामीलाई पनि थाहा छ । भोलि महिला भेला डाकेर यसको छिनोफानो गरेर छाड्छु" भन्दै लामो श्वास छोडेर सास बिसाइन् । मैले नरमता प्रकट गर्दै उसलाई सम्झाउँदै भने । "ए दर्ुर्गी छ कक्षामा सात चोटी फेल भएपछि तेरा बाउले तेरा-मेरा गोडा धोएर आँगन पोलेर आँगन छेउको केराको थामको गेटबाट धकेलेर तैं काउसो मलाई भिराएर पठाइदिएका हुन् क्या र । तेरा बाउले तँ लाई शिक्षादीक्षा दिएर सीप सिकाएर मान्छे बनाउन नखोजेका हुन् र तँलाई - के गर्ने कसौंडीभन्दा पनि बाक्लो रहेछ तेरा दिमाग । दरदुइ बीसले नेटो काटेर सुद्धि पँधेलो हुँदै जाने क्रममा सीप सिकेर हलो काटी मुँग्रो
धोती काटी झुम्रो भने झैं कहिले देख्न पाउने तेरा पायन् - तेरा वशका कुरा हैनन् बाबै यो उमेरमा कपडा तग्न । आफ्नै मन तग्न सिक् त कत्ति सुन्दर हुन्छ यो घर भनी सम्झाइ-बुझाई गरे। अझै पनि महिला समाज जोड्छु भन्ने कुरा सुन्यो कि मन झसंग झस्किरहन्छु।

Sunday, March 16, 2008

फूल हुनत भाँग्यमा रहेन छ ,
काडाँ बनी जिएको बहाँनामा बाँचेको छु ।
अनायासै कसैलाई बीजी दिदा,
प्रतिउत्तर मा पायको कोसेली हरु मन भरी साँचेको छु।
भीत्र भीत्र खोक्रो भइ सक्य म निरर्थक यो शरीर साँचेको छु,
पल-पल मरेर पनि जिएको को बहानामा बाँचेको छु।

Wednesday, March 12, 2008





२१ औं शताब्दीको व्यस्तता, जीवनमा मान्छेसंग समय साह्रै कम रहन्छ.। थोरै समयमा धेरै काम समाप्त गर्नुपर्ने भएकाले यथासम्भव घर पनि थोरै समयमा सिध्याउनु पर्ने हुन्छ । यसरी थोरै समयमा बनाएका घर,इनार पोखरी, विद्यालय, कलकारखाना आदि वास्तुदोष नरहला भन्न सकिन्न । त्यसैले नचाहँदा नचाहँदै दोषयुक्त बन्न पुगेका घर, मठ, मन्दिर, तलाउ, पोखरी आदिमा आधुनिक तथा भौतिक सर-साधनका माध्यमबाट वास्तुदोष मुक्त बनाउन सकिन्छ ।

माथि भनिएका दोष कसरी जान्ने त - भन्ने तपाईहरुमा जिज्ञासा जाग्न सक्ला त्यसका लागि विद्धान् वास्तु-शास्त्रीद्वारा आफनो घर, स्वीमिङ्ग पुल आदिको परिक्षण गराउन सक्नुहुन्छ । अर्को कुरा के छ भने यदि घर बनाई सक्नु भएको छ तर अगाडि गरिएका वास्तु नियमको ठीक विपरीत पर्न गएको छ भने त्यस अवस्थामा यथासम्भव निवारण भन्दा परिवर्तन तर्फलाग्नु नै उचित हुन्छ । कति समयमा यस्तो अवस्था पनि आउन सक्छ कि नियम सर-सजावट आदिको उचित प्रयोग हुँदा हुँदै पनि तपाईंमा अस्वस्थता आउन सक्छ । वास्तु दोष निवारणका विधिहरु तल उल्लेख गरिएको छ ।
आफ्नो दैनिक दिनचर्यामा ध्यान दिनुपर्ने कुराहरु-

१) यदि तपाईं सक्नु हुन्छ भने दक्षिण पश्चिम ओछ्यान -वेड) राखि दक्षिण या पूर्वतिर सिरानगरी सुते आरामदायी निन्द्रा आउँछ ।
२) पानी पिउँदा उत्तर दिशा तर्फफर्कि बसेर पिउने गर्नुपर्छ ।
३) खाना आँदा सदैव पूर्व फर्कि आरामसंग खाएमा स्वस्थ रहन सकिन्छ ।
४) यदि तपाईंको घरमा पूजा कोठा छैन भने र पूजा कोठा बनाउने इच्छा रहेमा घरको इशान कोणमा राखी पूर्व-उत्तर फर्की पूजा गर्न सक्नुहुन्छ ।
५) आर्थिक, मानसिक वा वाहृय प्रकारको दोष निवारण वा उन्नतिका लागि घर मुख्यद्वार माथि गणेश-लक्ष्मी, कुवेर, स्वस्तिक - ), ç मीन -माचो, - ६ द्ध क्रस -ख्), थ्, आदि मांगलिक चिन्ह राख्न सकिन्छ ।
६) यदि अज्ञानतावस दक्षिण, पश्चिम दिशा तर्फझयाल ढोका रहन गए, त्यसलाई बन्द राख्ने यदि अत्यावश्यक भएमा मात्र केही समयका लागि खोली बन्द गर्नु नै उचित रहन्छ ।
७) घरमा तलाव, इनार, ट्युवेल वा धारा राख्दा उत्तर-पूर्व वीच भागमा राख्नु शुभ रहन्छ ।

२) टि.भी. एन्टीनाद्वारा वास्तुदोष निवारण- तपाईंका घरको अघिल्लो भागको प्रवेशद्वार अग्लो भई पछाडि भाग होचो भएमा दक्षिण-पश्चिम दिशाको वीच भागमा अग्लो बनाइ टि.भी. एन्टीना राखेमा त्यस दिशाबाट आउने अदृश्य अशुभ प्रकाश र विकिरणलाई रोकि घरमा रहेको वास्तु दोषबाट बच्न सकिन्छ ।

३) पसलमा रहेको वास्तुदोष निवारण -तपाईंले आफ्नो पसलमा सही ठाउँमा, सही दिशामा सामानको सजावट गर्नु भएको छ कि छैन विचार गर्नु आवश्यक छ । पसलको उत्तर-पूर्व दिशा खाली छ कि छैन । यदि नभएमा केही स्थान खालि राख्नु अनिवार्य छ र दक्षिण पश्चिम दिशामा अत्यधिक भारी जस्तै- फर्निचरका सामान किराना भए चामल, नुन जस्ता सामान राखि पूर्व वा उत्तर फर्कि वस्नाले वास्तुदोष मात्र नभई लाभ लिन पनि सकिन्छ ।

४) पानी सम्बन्धी वास्तुदोष निवारण-
यदि तपाईंको घरमा पानीको निकास वा विकास सही दिशाबाट नभई वास्तुनियम अनुसार दोषयुक्त भएमा उत्तर-पूर्व दिशामा भूमिगत
-अण्डर ग्राउण्ड) ट्यांकी बनाइ पानीको विकास वा निकास गर्दा वास्तुदोषबाट बच्न सकिन्छ ।

ज्यो. पं. वासुदेवकृष्ण शास्त्री

Wednesday, March 5, 2008

बिमल दा

सुषमा मानन्धर
ऊ बेला हामी साना सानै थियौं, छ सात क्लास पढ्ने, उहा“ कलेज पढ्नुहुन्थ्यो । अग्लो, गोरो, घुम्रिएको कालो कपाल र जुंगाको मसिनो रेखी । उहा“ मस“गै पढ्ने साथी अस्मिताको मावली दाजु हुनुहुन्थ्यो । बेलाबेला अस्मिताको घर आइरहनु हुन्थ्यो र म प्रायः उहा“लाई देखिरहन्थे“ । एकपल्ट अस्मिताले उहा“को परिचय मस“ग गराएकी थिई, दीपा † उहा“ मेरो विमल दा ।'
"ए † तिमी छुच्ची कि साथी हौं - छुच्ची कि साथी त झनै छुच्ची होली नि । कसो छुच्ची -" उहा“लेे उल्टै अस्मितालाई जिस्काउनुभएको थियो । विमल दा उसलाई सधै“ छुच्ची भनेर जिस्काउनुहुन्छ भनी अस्मिताले बताएकी थिई । त्यस दिनदेखि उहा“ मेरा लागि पनि विमल दा हुनुभयो । विमल दास“ग सिक्ने, विमल दालाई भन्ने, विमल दालाई सोध्ने, मानौं हाम्रा लागि विमल दा एउटा यस्तो ठूलो जादुगर हुनुहुन्थ्यो जोस“ग हाम्रा सबै जिज्ञासा र समस्याका समाधान रहन्थ्यो । उहा“लाई म अस्मिता कहा“ आएको बेला हमेसा त्यो पढ्ने टेबुलअगाडि नै देख्थे“ जहिल्यै केही न केही पढिरहेकै, किताबमा घोत्लिरहेकै । म उहा“को त्यही पढ्ने बानीबाट साह्रै प्रभावित थिए“ । कुनैबेला उहा“को आउने क्रम अलि कम हु“दा हामी सबलाई छटपट हुन्थ्यो, के परेछ अचेल त विमल दा आउनु नै हुन्न । अनि जुन दिन उहा“ अस्मिताकोमा देखा पर्नु हुन्थ्यो, हामीलाई रमिता हुन्थ्यो । हामी सब झुम्मिन्थ्यौं अस्मिताकहा“ । अनि विमल दालाई प्रश्न सोध्न हानाथाप हुन्थ्यो । कहा“ कहा“का प्रश्न सोधी हामी उहा“लाई हैरान पाथ्र्यौ । स्कुलमा सरलाई सोध्न सकिने प्रश्नसमेत म विमल दालाई सोध्न सा“चिराख्थे“ । जब विमल दा हात हल्लाई हाउभाउमा कुरा बुझाउनुहुन्थ्यो, म उहा“ंका गोरा र लामा औंला हेरिरहन्थे“ । उहा“ अचेतन रूपले ती लामा औंलाले जुंगा चलाइरहनुहुन्थ्यो । म लुकीलुकी उहा“लाई त्यसरी जुंगा चलाएको हेरिरहन्थे“ । विमल दा हामी सब साथीलाई छुच्चीका बटालियन भन्नुहुन्थ्यो ।
समयस“गै हामी कक्षा उक्लि“दै गयौ“ । अस्मितास“ग मेरो मित्रता टुटिनहाले पनि उसकहा“ जाने क्रम भने कम हु्“दै गयो । उसले स्कुल परिवर्तन गरी, म चाहि“ त्यही स्कुलमा पढिरहे“ । कहिलेकाही“ काम पर्दा र कुनै बिदामा म अस्मिताको घर जान्थे“ । हरेकपटक त्यसरी साथी भेट्न जा“दा मेरा आ“खाले विमल दाको उपस्थिति खोज्थ्यो तर भेट्दिनथे“ । सोध्न मन लाग्थ्यो उहा“को बारेमा, कहा“ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ र किन आउनुहुन्न अचेल पहिलेजस्तै भनी । तर संकोच लाग्थ्यो । उसमाथि अस्मिता आफैं आफ्नो पहलमा केही पनि बताउन्नथी । केटाकेटी हु“दो त सोध्थे“ पनि होला तर अब त्यो स्वाभाविक, सहजता र चपलता रहेन ममा ।
स्कुल पनि सकाए“ राम्रो अंकमा । त्यसपछि के पढ्ने के नपढ्ने निकै दोधार भयो । स“गै पढेका साथी कोही कता लागे कोही कता । ठूला सपना बोकेकाहरू विदेसिए, कसैको त त्यही बेलामा नै बिहे पनि भयो । मैले कमर्स पढे“, फाइनान्स लिएर । अस्मिताले पनि कमर्स नै पढी तर उसको मुख्य विषय मार्केटिङ थियो । केही क्लास छुट्टाछुट्टै भए पनि धेरैजसो समय हामी स“गै एउटै क्लासमा हुन्थ्यौं । क्याम्पस पढ्न थालेपछि भने अस्मितास“ग मेरो फेरि भेटघाट बढ्यो । नोट्सहरू साट्न र पढाइमा छलफल गर्न म उसको घर गइरहन्थे“ ।
पहिला उनीहरूको घरमा ठूलो बगैंचा थियो अब त त्यहा“ सानो टहरा बनिसकेको थियो । टहरामाथि कौसी बनाइएको थियो, जसको एक कुनामा ठूलो घ्याम्पोमा आरुको बोट रोपिएको थियो । त्यही रूखको छायामा हामी घण्टौं गफ गरिरहन्थ्यौं । आरुका फूलहरू फूले, झरे, फले हरेक साल । तर त्यसपछि मैले विमल दालाई फेरि देखिन“ । सोध्ने कुरा पनि भएन, नारी स्वाभाविक संकोचका बाधाहरू तर्ेर्सिन्थे । अरूले केही भनोस् या नभनोस् आफैंलाई अप्ठ्यारो लाग्थ्यो । निकैपल्ट आ“ट गरेकी थिए“ अस्मितास“ग विमल दाबारे सोधु“ भन्ने, हरेकपटक शब्दहरू ओठभित्रै गुम्सिरहेे । सोध्ने कुरा मुखसम्मै आएर पनि धेरैपटक रोकिए ।
मेरो मानसपटलबाट विमल दा कहिल्यै मेटिनु भएन । उहा“को व्यक्तित्व मेरा लागि आदर्श थियो र पे्ररणा । उहा“को प्रतिभा, अध्ययनशीलता र विद्वताको म सानैदेखि कायल थिए“ ।
कहिलेकाही“ अस्मिताले कुरा गर्दा उहा“को नाम आउ“थ्यो । उसलेे विमल दाका बारे अझ बढी केही भन्ली कि भन्ने आसमा म उसको मुख हेरी बस्थे“ तर ऊ त्योभन्दा बढी केही भन्दिनथी ।
म ठूली भए“, सबैलाई त्यही लाग्थ्यो । त्यसैले घर परिवारतिर कतै जमघट भएमा कुरा मेरो बिहेको निस्किहाल्थ्यो । म भरसक यस्ता प्रसंगबाट पन्छिन खोज्थे“ र आएका राम्रै प्रस्ताव पनि अस्वीकार गर्थे“ ।
लायक र खानदानी परिवारमा समेत मैले मन नदिएकी देख्दा घरमा मलाई सोधिन्थ्यो 'हैन तै“ले कस्तो खालको केटा चाहेकी होस् त †'
पुरुषहरूमा म विमल दालाई नियाल्थे“, सबैमा उहा“को जस्तो व्यक्तित्व र प्रतिभा खोज्थं“ अनि तुलना गर्थे“ उहा“स“ग अरूलाई । हरेकपटक विमल दा मलाई धेरैमाथि लाग्थ्यो । मेलै अवोध बालापनदेखि सा“चेको उहा“को छवि कही“ कसैगरी पनि दूषित र बीसको उन्नाइस भएन ।
एक दिन अस्मिताले खुसी हु“दै, धेरै वर्षछि विमल दाको छोरा भयो भनेर बतार्इर्र्। उहा“को बिहे पनि भइसकेको
रहेछ । कसरी म यो कुराबाट अनभिज्ञ रहे“ भनेर मलाई धेरै दिनसम्म विस्मात् भइरह्यो । उसैबाट थाहा पाए“, उहा“ बुटवलमा सपरिवार बस्दै हुनुहुन्थ्यो, नोकरी उतै थियो, त्यसैले परिवार उतै रहेछन् । उहा“को बिहेले पनि उहा“प्रतिको श्रद्धा घटेन ममा ।
मेरो पढाइ सकिएपछि घरबाट धेरै दबाब पर्न थाल्यो बिहे गर्न । राम्रो सम्पन्न परिवार हातबाट उम्केला भनेर मेरो डिप्लोमा सकिएलगत्तै बिहे गरियो । बिहे अनि घर गृहस्थी, केटाकेटी हुन कतिबेर । माया गर्ने श्रीमान् र दर्ुइ कलिला छोरास“गको समय, जागिर खा“दाखा“दै वर्षरू पनि बित्दै गए । अस्मिताको पनि बिहे भइसकेको थियो र ऊ श्रीमान्स“ग पोखरा बस्थी । अरू साथीस“ग मेरो खासै सर्म्पर्क हु“दैनथ्यो तर अस्मिता टाढै बसेर पनि बेला-बेला फोन गरिरहन्थी । हरेक दर्ुइचार महिनामा ऊ काठमाडांै आवत-जावत गरिरहन्थी । यता आएको बेला हामी घण्टौं गफ गथ्र्यौ केटाकेटी छ“दाका, स्कुल कलेज अनि, घर गृहस्थीका । हामी सपिङ जान्थ्यौं, स“गस“गै कुनै दिन हलमा सिनेमा हेथ्र्यौं । जब पनि म उसलाई भेट्न उसको माइती जान्थे“ विमल दाको अनुभूति मेरो दिमागमा अझ ताजा हुन्थ्यो । मनभित्र अंकित उहा“को पूज्य छवि समयका असंख्य छालले पनि बगाउन सकेको थिएन ।
अहिले पनि अस्मिता काठमाडौं आएकी थिई, माइती । कुरैकुरामा उसले मलाई विमल दा उपसचिवमा बढुवा भएर काठमाडौंमा सेमिनारमा आउनुभएको समाचार सुनाई । विमल दा † म उत्साही र उत्तेजित पनि भए“, त्यो सुनेर । उहा“स“ग भेट्न साह्रै मन लाग्यो र पहिलोचोटि मनको कुरा फुत्कियो, मैले अस्मितालाई विमल दास“ग भेट्न चाहेको कुरा बताए“ । ऊ एकछिन चुप लागी, अवाक देखिई । खै कुन्नि के सोची † उसले विमल दा काठमाडौंको अर्किड होटलमा भइरहेको सेमिनारमा एक साता रहने बताई । मनै मानेन, त्यही दिन होटल अर्किड पुगे“ । डर लागिरह्यो कस्तो प्रतिक्रिया पाइने हो † एक मन त फकर्ुं कि भन्ने पनि सोचे“ तर होटल पुगिसकेकीले दरो गरी बसे“ । रिसेप्सनमा बुझ्दा थाहा भयो, त्योे सेमिनारमा साढे बाह्रतिर लञ्च ब्रेक हुने रहेछ, कुरे“ । सेमिनार हलमा सूचना पुगिसकेको थियो विमल दासमक्ष, त्यसैले लञ्च बे्रक हुन पा“च मिनेटअगाडि एकजना भरिलो जीउडालको व्यक्तिस“ग होटल कर्मचारी मतिर आइपुग्यो । अन्दाजैले ठम्याए“ उहा“लाई, मेरो विमल दा धेरै परिवर्तन भइसक्नुभएको थियो । उहा“का कालो र घुम्रिएका कपाल अब पातलिएर फुल्न थालेका थिए, मसिनो र आकर्ष जंुगा अब टाटेपाटे भइसकेका थिए । आ“खामा बाक्लो चस्मा चढिसकेको थियो तर अनुहारमा आभा भने उस्तै थियो, केही घटेको थिएन । उहा“ले मतिर प्रश्नसूचक दृष्टि दौडाउनुभयो । मेरो
अभिवादनको प्रत्युत्तर फर्काउ“दै मस“ग परिचय माग्नुभयो ।
'विमल दा, म दीपा, अस्मिताकी साथी ।' मैले आफूलाई उही पहिलेकी झन् छुच्ची फुच्ची कल्पना गरे“ । विमल दा जो मेरो आदर्श हुनुहुन्थ्यो, जो मेरो अबोध हृदयको अमीट छाप हुनुहुन्थ्यो, जसलाई मैले कुनै दिन पनि बिर्सिन“, आज यत्तिका वर्षछि प्रत्यक्ष मेरासामु हुनुहुन्थ्यो । उहा“लाई मैले प्रश्न गर्न चाहे“ उहा“ किन हराउनुभएको थियो त्यो बीचको समयमा जब म उहा“को समीपमा हुन चाहन्थे“, उहा“लाई नजिक देख्न चाहन्थे“ । सकिन केही सोध्न, सोध्नुको कुनै औचित्य थिएन । "को
दीपा -" विमल दाले सम्भिmने प्रयास त गर्नुभयो । सम्भिmनु भयो/भएन, जानिन“ । 'ए....ए...' खासै महत्त्व नदिए जस्तो गरी लेघ्रो तान्नुभयो उहा“ले ।
"अनि - के पर्‍यो त -कुनै विशेष -" उहा“ले देखाउन खोज्नुभएको औपचारिकता र अपरिचितपनको अगाडि उहा“स“ग भेट्न किन आतुर थिए“ भन्ने कुरा प्रकट गर्न सकिन“ । त्यही बाटो भएर निस्केकी र उहा“लाई त्यहा“ सेमिनारमा आउनुभएको थाहा पाएर भेट्न आएकी भने“ । त्यही बेलामा चार/पा“च जना अरू व्यक्ति पनि नमस्कार गर्दै उहा“लाई र्घर्ेन आइपुगे । विमल दा उनीहरूस“गै गफमा अल्मलिनु भयो । मनभित्रको वर्षौदेखिको गुम्स्याई अटेस-मटेस थियो तर विमल दाले देखाउनुभएको निरपेक्ष व्यवहार र अपरिचितपन धेरै पीडादायी थियो मेरा लागि । मेरो मानसपटलमा अमीट रहेका थिए विमल दा भने“ उहा“को चाहि“ मनको विस्मृत अन्तरकुनाभित्र पनि थिइन म । गह्रौं मन लिएर फर्किए“ । गहभरि आ“सु थियो । आ“खाभित्र सा“चेको उहा“को छवि आ“सुस“ग विस्तारै-विस्तारै नजानि“दो रूपले पखालि“दै थियो, सायद... ।


कान्तिपुर बाट साभार ।

Saturday, March 1, 2008

त्यो घुम्ती

सुन्दर जोशीवेष्टपाम वीच, ल्फोरिडा


त्यो घुम्ती आएपछि उ मरी मरी हाँस्न थाली। घुम्ती त थुप्रै छन् काठमाण्डौ शहरमा तर उनलाई त्यहिँ आई पुगेपछि मात्रै कुतकुती लाग्नुको रहश्य फुत्काउन ऋतेनलाई कम्ता गाहारो परेन।एकदिन उनले अर्थात भनेसाले अफिसमै भनिन् "आज गोथे इन्स्टीच्चुटमा एउटा फ्रेन्च फिल्म प्रदर्शन हुँदैछ ,मैले तिम्रोलागी पनि टिकट किनिसकेकी छुँ।" अनि उ यसरी हाँसी कि उसको के तागत नाई भन्नलाई ।"फोन गर न" भनेसाले नै सम्झाउनु पर्या उसलाई। हतार हतार घरमा श्रीमतिलाई फोन गरेर बोल्न सम्म झुट बोल्यो र लामो शास फेर्योराहतको तर विश्वासघात मिसिएको। ऋतेनलेपनि एउटा शर्त राख्यो "आज त्यो घुम्तिको बाटो नजाने भए मात्रै……" भनेर।"किन ?" भनेर उ लगभग चिच्याई ।"किनभने तिमि त्यहाँ पुगेपछि …" भनेसाले ऋतेनको कुरा विचैमा काटेर भनि "दुईदिन पछि म आफ्नो देश फर्कंदै छुँ प्लिज मलाई त्यहि घुम्तिको बाटो लैजाउ ।""आखिर किन तिमि सँधै त्यो……" फेरि पनि बिचैमा उछिनेर भनेसाले भनिन् "किनभने मलाई हाँस्न पुगेकै छैन। काठमाण्डौंको सम्झना भन्नु नै तिमि र त्यो घुम्ती त हो।""मुर्ख जस्तो कुरा नगर सम्झनलाई तिमिसँग धेरै कुराहरु छन्।" ऋतेन अलि उदास जस्तै भयो। भनेसा दुईदिन पछि फर्किंदै छे भन्ने चिसो वास्तविकताले उसलाई भित्र कताकता चिथोरी रहेको थियो।"के छ अरु त्यस्तो सम्झन लायकको?" उनको चिम्से आँखाले टड्कारो ऋतेनलाई घुर्यो।उसले भने घडी देखाउँदै भन्यो "म्याम ५.३० भै सक्यो जाने होईन?" भनेसा ऋतेनकोपछि लागी र गाडीभित्र पस्नेवित्तिकै भनि "तिम्रो कुराको सिलसिला जोड न! के छ अरु कुरा जुन म सम्झना स्वरुप लिएर जाउँ ?"ऋतेनले टिठ लाग्दो गरि हेर्यो भनेसालाई र भन्यो "तिमि जोरसल्लेको त्यो होटेल बिर्सन सक्छौ जहाँ मैले तिम्रो शरीरभरिको जुका टिप्न रात विताएँ। तिमि करिब करिब सर्वाङ्ग नाङ्गो थियौ रगतमा लतपत र डरले तिमिले मलाई कसरी अङ्गालोमा बाँधेकी थियौ?"भनेसाले लज्जालु आँखाले ऋतेनले सुईंको नपाउने गरि उसको अनुहार नियाली तर त्रिपुरेश्वरको शालिक घुमेर उकालो लाग्दै गर्दा उसलेपनि भनेसालाई एक नजर हेर्न भ्याई हाल्यो। दुवैको आँखा स्वभावतः जुधि हाल्यो।"काठमाण्डौमा ड्राइंभिङ्ग गर्नु त्यो पनि तिमिजस्ती केटीलाई सँगैको सिटमा राखेर। ज्यान जोखिमको कुरा छ। तिमि केहि नबोल है एकछिन ।" ऋतेनले उकुसमुकुस हुँदै वाक्य पुरा गर्यो। भनेसा भने यसरी खिलखिलाएर हाँसी कि झण्डै एउटा ट्याम्पोलाई हानेन उसले।"मलाई नसम्झ तर ति जुकाहरुमाथि त अन्याय नगर…" गाडी सम्हाल्दै ऋतेनले भन्यो।भनेसाले उसको फिलामा दुल्ने गरी चिमोटि दिई। उ झन् जोशियो। "पाख्रिवासको तोङ्गवा र लामकानेको ह्याकुलो विस्रन सक्छौ?" उसको फिलाभरी चिमोट्दै लगभग चिच्याई "प्लिज स्टप ईटू"पार्किङ्ग लटमा गाडी रोक्दै ऋतेनले भन्यो "यस्ता अनगिन्ति कुराहरु छन् जसले तिमिलाई जहाँ गएपनि जहिले पनि नेपालको सम्झना दिलाई राख्ने छ ।""म नेपाल बिर्सन सक्दिन म तिमिलाई बिर्सन सक्दिन । तर त्यो घुम्तीलाई झनै बिर्सन सक्दिन ।" नेपाली भाषाको पाठ घोके झैं भनेसाले भनिन् ।दुबै हाँस्दै हलभित्र छिरे। फिल्म शुरु भै सकेछ। उज्यालोबाट एकैचोटि अँध्यारोमा पस्दा कस्तो हुन्छ ? दुबैले छामछाम छुमछुम गर्दै बस्ने ठाउँ फेला पारे। अंग्रेजीमा सबटाईटल भएको फ्रेंच फिल्ममा ऋतेनलाई खास्सै मन लागेन। तर भनेसा यति नजिक थिई कि उनको मुटुको धड्कन गन्न सक्थ्यो उ। यस्तो दृश्यपनि आयो अनायास भनेसाले उसको हात बलियोसित समाती। उसको शास बढेको आभास पाएर हपहपी भयो ऋतेनलाई तर उठेर बाहिर जान सक्ने स्थितिपनि थिएन किनभने उसको दुबै हात भनेसाको हातभित्र जो थियो।फिल्म सकिएर बाहिर निस्कँदै गर्दा उनले साउती मारी "भोक लाग्यो नाङ्गलोमा जाउँ न!"उसको प्रिय रेष्टुरेण्टमा पुगेर गाडी रोकियो तर पार्किङ्ग भेटेन उसले। भनेसालाई नाङ्गलोको अगाडी नै झारेर अन्नपूर्णको पार्किङ्ग लटमा पुग्यो। सँधैजस्तै युनिफर्ममा डटेको पालेलाई बीसको नोट तेस्र्याएर छुटकारा लियो। उ फर्किएर नाङ्गलोको अगाडी पुग्दा उनी एउटा डल्लो डल्लो माथी माथी सैलुङ्गेमा चौरी चराउने जस्तै लाग्ने जवान केटोसँग मस्कि मस्कि गफिई रहेकि थिई । ऋतेनले केहि बोल्नै पाएको थिएन उनले उसको हात समात्दै भनि "मेरो नेपाली केटा साथी।"ऋतेनले केहि प्रतिक्रिया व्यक्त गर्न नपाउँदै त्यो भाईले उसलाई डाहाले भुतुक्क भएको आँखाले घुर्यो र भन्यो "यस्तो भिलेन खेलिदिने दाई?""मतलब ?" उसको कुरा सुनेर उ तिन छक पर्यो । रिस उठ्न समय नलाग्ने उसको स्वभावसँग परिचित भनेसाले तानेर उसलाई नाङ्गलोभित्र लगी हाली ।अलिकति डराएको नजरले हेर्दै भनि "उ मेरो रेगुलर ट्याक्सी ड्राईवर हो""काठमाण्डौको ट्याक्सी ड्राईवर …सोमत…।" उनले फेरि आँखाले नै शान्ती धारण गर्न विन्ति गरी र मनलागे जति खानेकुरा अर्डर गरि र भनि "उ तिमिसँग जेलसलाई के भन्छ नेपालीमा ?""भुत्रो" ऋतेनको रिस !उसले निसङ्कोच भनि "त्यो मेरो पछि लागेर हैरान छ। म कहाँ हुन्छु र कतिबेला मलाई ट्याक्सी चाहिन्छ सबै थाहा हुन्छ त्यसलाई । भन्ने बित्तिकै अर्को ट्याक्सीपनि पाईंदैन । अनि म उसलाई अभोईड पनि गर्न सक्दिन र त्यो मोरो जहिलेपनि त्यहि घुम्तीको बाटो मात्रै लैजान्छ " "मतलब त्यो घुम्ती र यो गाण्टेमूलाको बीच रिलेशन छ?" उसले भनेसालाई तीखो नजरले घुर्दै सोध्यो ।उनले स्विकृतिमा टाउकोमात्रै हल्लाई र कता कता हराए जस्तो भई। ऋतेन उनको अनुहारको हरेक भावलाई पढ्न सक्थ्यो। यो शहरमा उ मात्रै यस्तो मानिस हो जसले उनको मनमा उठ्ने हरेक छालको उँचाई नाप्न सक्थ्यो । कम से कम यस्तै सोच्ने गर्थ्यो उ। तर त्यो ट्याक्सी ड्राईवर उसको मनलाई ठुलो ढुङ्गाले थिचे जस्तो भएको छ। तैपनि आफुलाई सम्हाल्यो उसले। सम्हाल्नै पर्यो नत्र भनेसाको उ प्रतिको विश्वास डगमगाउन सक्थ्यो। दुईदिन पछि जाने मानिसको मन व्यर्थै दुःखी किन बनाईदिनु भन्ने सोचेर होला रोमाण्टिक हुने प्रयास गर्न थाल्यो।उ भित्रको लाभा सेलाउँदै गएको आभास पाएकी भनेसाले आफुले खादै गरेकी गाँसको चम्चा उ तिर बढाई र उसले सहर्ष स्विकार्यो। भनेसा त उसको जुठो झन् धेरै मीठो मानेर खान्थी। उनले त उसको जुठो गोक्यो भ्यालीको त्यो सानो होटेलमा खराब मौसमको कारण तिन दिनसम्म बस्नुपरे देखि नै खान थालेकी थिई। बेस्सरी हिउँ परेर उनिहरुको यात्रा रोकिएको थियो। दुर्भाग्यवश त्यहि बेला भनेसाले आफ्नो स्लिपिङ्ग व्याग पनि हराएकि थिई। सँयोगले ऋतेनको स्लिपिङ्ग व्याग डबल साईजको थियो र उ बाँची। उनी छ्यापीको अचारसँग उसिनेको आलु यसरी खान्थी मानौ त्यो स्वाद उनको जिब्रोमा जन्मजात बसेको हो।उनिहरु नाङ्गलोबाट बाहिर निस्कँदा त्यो ट्याक्सी ड्राईवर त्यहिँ थियो। उसले भनेसाको हात समाएर आफुसँगै पार्किङ्ग लटमा लग्यो। त्यसले कुनै दुव्र्यवहार गरेन बरु अचम्मको टीठ लाग्दो नजरले भनेसालाई हेरिरह्यो। उनिहरुले फर्कि फर्कि हेरे र जतिबेला पनि उसलाई त्यहिँ त्यहि मुद्रामा उभिई रहेको पाए। यतिसम्म कि उनिहरुको गाडी उसको आँखा सामुन्नेबाट चिप्लिएर गएको पनि उ हेरि नै रहेको थियो।ऋतेनले सुस्तरी भनेसालाई चियायो। मोरी यसरी मुस्कुराई रहेकि मानौ रातको चिसो बतासले हो वा घण्टाघर अगाडिको बाटोमा लटरम्म फुलेका सिरिषका फूलहरुले कुत्कुती लगाई दिएको होस्।सिँहदरबारको शालिक घुमेर माईतिघरतिर गाडी मोडिने बित्तिकै त्यो घुम्ती आईपुग्न लागेकोले ऋतेन सतर्क भयो। थापाथलीतिर मोडिने वित्तिकै प्यान्थरको ठुलो विलबोर्डमा एक्कासी उसको आँखा ठोक्कियो। यस अघि कहिल्यै यस्तो भएको थिएन। भनेसा सँधै जस्तो हाँस्न थाली। उसको मनमा चिसो पस्यो। 'रहश्य कतै यहि विज्ञापनसँग त छैन?'"प्लिज, ऋतेन यसलाई एउटा रहस्य नै बनिरहन देउ ।" उसको आँखाको प्रश्न पढिसकेकि उनले भनि ।"ठिकै छ यो सन्दर्भ यहिँ टुङ्गियोस्। म कुनै चासो राख्दिन यस बारेमा।" मनलाई साँच्चै ढुङ्गाजस्तो बनाउने प्रयास गर्यो उसले।पाटन ढोकाको पुर्वपट्टिको पाखामा थियो भनेसाको डेरा। घरसम्म गाडीपनि जाँदैन थियो तर त्यहाँबाट देखिने हिमश्रृँखलाले लोभ्याएको थियो उनलाई। घरदेखि अलि माथी सानो एउटा बौद्ध स्तुपा छेउ थोरै ठाउँ थियो जहाँ उ गाडी राख्ने गर्थ्यो।आज त उसलाई त्यहाँसम्म झर्न पनि मन लागेन र फर्किन चाह्यो तर उ मानिन । मान्दै मानिन । उसले भनेसालाई कोठसम्म छोड्न जानै पर्यो। काउचमाथिको उनको लुगाहरु पँछाउँदै बस्ने ठाउँ बनायो र उ अस्तव्यस्त कोठालाई नियाल्यो। पुराना थुप्रै घटनाहरु आँखामा एकछिन सलबलायो। त्यो कोठा जुन दुईदिन पछि उसकोलागी विरानो हुँदै थियो।भनेसाले उसकै अगाडि निसङ्कोच सँधैजस्तै वस्त्रहरु फेरी । उनलाई उ सँग सङ्कोच हुनुपर्ने कुनै कारण थिएन । गोक्योको त्यो हिमआँधिमा स्लिपिङ्ग व्याग हराएपछि माईनस कति हो कति जाडोमा ऋतेनसँगै एउटै स्लिपिङ्ग व्यागमा कतिदिन सम्म सुतेकि थिई ।उसले एउटा सानो प्याकेट दिँदै भनिन् "त्यो ट्याक्सी ड्राईवरलाई देउ है, तर म गईसकेपछि""के हो भन पहिला ?""त्यो उसैको नासो हो-वान होल बक्स अफ प्यान्थर" मनमा त लाग्यो त्यो बट्टाले उसैको मुखमा हानिदिउँ जस्तो, तर सँयमित हुनु नै कल्याण देख्यो ऋतेनले। किन दुखाई दिने दुईदिन पछि जाने मान्छेको मन। शायद यस्तै सोच्यो उसले।उ हराएको सुईँको पाएकि भनेसाले भनि "तिमि शायद मेरो चरित्रमाथि शङ्का गरिरहेका छौ।""तिम्रो चरित्रसँग मलाई केहि लिनुदिनु छैन ।" प्यान्थरको बट्टा उसैको अगाडि फालिदिँदै फेरि भन्यो "तिमिहरु यस्तै हौ मिडल स्कूलदेखि नै खेलाउँछौ यस्ता बट्टाहरु कसले रोक्ने तिमिलाई ? न आमा बाबुको ठेगान हुन्छ । 'माई लाईफ ईज माई लाईफ' त्यत्ति हो जिन्दगीको फिलोसोफि। आफ्नो खुशीको लागी जे पनि गर्छौ तिमिहरु। यस्तै सँस्कारमा हुर्किएकि छौ…"अनायास उ सोफामा थच्चारिई ढलेको रुख जस्तै र निक्कै दुखी नजरले हेरि ऋतेनलाई । ऋतेन रिसको झोँकमा बोल्नुसम्म बोली सकेपछि ग्लानी महशुस गरिरहेको थियो आफुलाई सँयमित राख्न नसकेकोमा।निकै बेरको मौनतापछि अनायास भनेसाले प्रश्न गरि "तिमि एल ए आउँदा मलाई भेट्न आउँछौ?"ऋतेनले टीठ लाग्दो नजरले हेर्दै भन्यो "त्यहाँपनि यस्तो घुम्ती छ?" उ थोरै हाँसी र भनि "छ तर प्यान्थरको विल बोर्ड भने छैन ।"भनेसा फर्किएको झण्डै सात आठ महिनापछि काम विशेषले ऋतेन एल ए पुग्यो। उनले दिएको ठेगानामा पुगेपछि उसलाई घरको पर्खाल देखेरै अत्यास लाग्यो। बेल थिच्ने आँट पनि आएन । दोमनमै झुक्किएर बेल थिचिसकेपछि एकजना अधवैशे जापानिज जस्तो लाग्ने महिलाले आलिशान महलभित्र छिराई र लिभिङ्ग रुममा राखेर हराई ।अनायास उसको आँखा भनेसाको एउटा ठुलो तैलचित्रमाथि पर्यो। त्यहि मुस्कान यस्तो लाग्यो उसलाई यसपल्ट उ त्यो घुम्तीमा पुगेर हाँसेकि होईन बरु उसैलाई यो अवस्थामा देखॆर हाँसि रहेकि हो।ति महिलाले आएर उपहारको एउटा बाकस हातमा थमाईन् र भनिन् "भनेसा मङ्गोलियाको कुनै दुर्गम भागमा काम गरिरहेकि होली।" ऋतेन एक्कैचोटि जोरसल्ले पुग्यो। ति महिला भनि रहेकि थिई "अर्कोपल्ट शायद तपाईलाई नेपालमै भेट्ने छिन्। उनी फेरि नेपाल जाने कुरा गर्थिन्।" उ मुस्कुराई ।"तपाई…" ऋतेनले उत्सुकता जगायो ।"म भनेसाको यो घरको रेखदेख गर्छु। उनी वर्षमा मुश्किलले दुई महिना यहाँ बस्छिन्।"विचरा ऋतेन गह्रुङ्गोसँग मुस्कुराउन मात्र सक्यो। निस्कनु अघि भनेसाको त्यो पुर्णकदको तैलचित्र फेरि नियाल्यो। चित्र त्यसरी नै मुस्कुराई रहेको थियो जसरी उ मुस्कुराउने गर्थिन्।बाहिर गाडीमा आएर उपहारको बट्टामा टाँसिएको सानो खाम खोलेर हेर्यो। सानो पत्र र चिरपरिचित हस्ताक्षरहरु । उ पढिरहेको थियो तर भनेसा आफै बोलिरहेको झै भ्रम भई रहेको थियो ।"ऋतेन मलाई हाँस्न पुगेको छैन । त्यो बजिया ड्राईवरले त एकदिन मलाई प्यान्थरको त्यो बट्टा उपहार भन्दै थियो । मैले के हो भनेर सोद्धा उसले हाउभाउबाट प्यान्थरको विवरण नै प्रस्तुत गर्यो। म यति हाँसे कि शायद त्यसले मेरो हाँसो चुम्नसक्ने सपना देख्यो । त्यो घुम्तीमा पुगेपछि मलाई अनायास हाँसो उठ्नुको रहश्य त्यहि मात्र हो। तर तिमिले केहि हदसम्म सत्य बोलेको थियौ। माई लाईफ इज माई लाईफ नत्र म विलिनिएर विजिनेस मेनको छोरी भएर पनि जानी जानी स्लिपिङ्ग व्याग हराउँदै हिँड्ने थिईन। त्यो आलिशान महल जहाँ केहिबेर अघि तिमि थियौ त्यसभित्र साँगुरिएर बस्न सक्दिन। हार्वर्डमा पढ्दा खेरिदेखि नै बाबुआमासँग तिम्रो देश घुम्न पुगें। अनि मेरो पी. एच. डी. अनुसन्धानको लागी तिमिलाई थाहा छ मेरो विषय तिमिले थुप्रै सघाएका छौ मलाई । एउटा कुरा ऋतेन मानिसको मूल्याङ्कन गर्ने परिभाषाहरु फेर्नुपर्छ होला। म फेरि नेपाल आउने छुँ। पाख्रीवासदेखि हिले पुग्दै दिउँसै वास बस्न तिमिलाई फेरि पनि बाध्य पार्ने छुँ। मलाई तोङ्गवा र लामकानेको पोलेको ह्याकुलो खान पुगेकै छैन। यु नो मी माई लाईफ ईज माई लाईफ त्यत्ति न हो मेरो जिन्दगीको फिलोसफि ! कसले रोक्न सक्छ मलाई?"राम्रै चड्कन पाएको महशुस गर्यो ऋतेनले। "मलाई लगुना वीच देखाउन लैजाउ न" आफुलाई राईड दिने साथीलाई विन्ति गर्यो। लगुना वीचको प्रसङ्ग घरी घरी उठाउँथी भनेसा ऋतेनसँग । शायद त्यसैले उ त्यहाँ गएर लगुना वीचको बगर भरि उनलाई खोज्न चाहन्थ्यो । त्यहाँको बतासहरुमा भनेसालाई महशुस गर्न चाहन्थ्यो ।उनिहरु लगुना वीच पुग्दा करिब करिब सूर्यास्त हुनै लागेको थियो । विशाल सागरको छालहरुसँग खेल्दै घाम डुबेको यति सुन्दर दृश्य उसले जिवनमा कहिल्यै देखेको थिएन ।

NOTE:- यो कथा ले मेरो मन छोएको हुदा, मेरो ब्लग स्पोट मा संग्रह गरेको छु, कृपया अन्यथा नठानी दीनु होला ।